विराटनगरको रथयात्रामा हट्यो तारको व्यवधान

<span class='c1'>विराटनगरको रथयात्रामा हट्यो</span> <span class='c2'>तारको व्यवधान</span>

विराटनगर । विराटनगर–१ पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडीलाई रथारोहण गराएर यात्रा प्रारम्भ गर्दादेखि नै एउटा आवाज आउँछ ‘सावधान !’ यति नै बेला रथ भन्दा माथि एउटा टेको (बाँस वा भाटो अथवा स्टिलको लामो डण्डी उठाएर तारलाई उचाल्नुपर्ने बाध्यता हुन्थ्यो । फेरी केहिछिन्मा रथबाटै आवाज आउँथ्यो सावधान ! भगवान श्रीकृष्णको रथयात्रा निकाल्ने क्रममा बारम्बार आउने यो आवाजसँग अनियन्त्रित तरिकाले रथ गुड्ला र केहि दुर्घटना भईहाल्ला भन्ने मात्रै थिइन । थियो त नगर भित्र अव्यवस्थित तरिकाले तानातुक्रुटा टाँगिएका तारको जाली । बिद्युत प्राधिकरणले फेजमा विस्तार गरेको नाङ्गो तारबाट घरघरमा कालो तारमार्फत करेन्ट लगिएका तार, इन्टरनेट तथा केवल टिभी सेवा प्रदायकले टाँगेका मनलाग्दी तार र टेलिकमको तारले जेलिएको बिराटनगरको मुख्य बजार क्षेत्रलाई अहिले क्लियर गरिएको हो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाका अनुसार गतवर्ष साह्रै हैरान देखेपछि यस पटक महानगरपालिकाले सहजीकरण गरिदिएको हो । उनका अनुसार बिद्युत प्राधिकरणलाई सडकको दुवै साइडमार्फत प्रसारण लाइन विस्तार गर्न अनुरोध गरिएको थियो । प्राधिकरणलाई समेत फेज विस्तार गर्नुपर्ने बाध्यता थियो । तर, पोल गाड्ने ठाउँ पाइने नपाईने चिन्तामा परिरहेको बेला महानगरपालिकाको प्रस्तावले तत्काल कार्यन्वयन गर्ने बाटो खोल्यो । त्यसपछि टंकी सव–स्टेसनबाटै ढाट–कन्चनबारी–बरगाछी–तीनपैनी–जलजलाचौकसम्म नयाँ फेज थपिदियो । महानगरपालिकाले तीनपैनीदेखि रोडशेष चौकसम्मको बजार क्षेत्रमा सडकका दुवै किनाराका बिद्युत पोलमा तार व्यवस्थापन गर्न अन्य सेवा प्रदायक कम्पनीसँग अनुरोध गरेको थियो ।

जसका आधारमा अहिले सडक क्रस गरेर तानिएका तारहरुलाई दुवै साइडबाट लगाइएको छ । सडक भन्दा माथिल्लो भागबाट तारको जालो हटेको छ । यो तारको जालो हटेपछि अब रथ तान्दा टेको नचाहिने भएको हो । यदि कुनै कारणवश हटाउन नमिल्ने एकाध तार भए त्यसलाई समेत रथको गजुरले छुन नसक्ने उचाईमा राखिएको छ । प्रमुख कोइरालाले महानगरपालिकाले रथयात्रा निकाल्न नभएपनि विराटनगरको पहिचान बोकेकोले यसको सहजीकरण गर्ने जिम्मेवारी पूरा गर्ने बताए । उनले भने–रथ हामीले निकाल्ने हैन, यद्यपी यो विराटनगरको प्रतिष्ठा भएकोले सहजीकरणका काम सबै गर्नुपर्छ । उनले विराटनगरको पहिचान भएकोले सबैले सकेको दायित्व लिन अनुरोध समेत गरेका छन् । यस पटक सोमबार कृष्णाजन्माष्टमी छ । मंगलबार रथयात्रा निकालिने छ । तीनपैनीदेखि रोडशेष हुँदै बरगाछीबाट पुनः तीनपैनीसम्म नौ किलोमिटरको दुरीमा रथ घुम्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्