शिक्षकका हातमा बाँसको भाटा, मनलाग्दी कुट्छन् टाउकोमा

<span class='c1'>शिक्षकका हातमा बाँसको भाटा,</span> <span class='c2'>मनलाग्दी कुट्छन् टाउकोमा</span>

विराटनगर । मोरङको जहदा गाउँपालिका–२ डंग्राहा मझारे (ग्रामबाबा टोल) स्थित चन्द्रसुर्य बोर्डिङ स्कुलमा सोमबार एक विद्यार्थीको टाउको फुट्यो । शिक्षक राजनकुमार साहले हातमा बोकेको लाठ्ठी विद्यार्थीमाथि प्रहार गरे, त्यसले कुटाई खानै नपर्ने ८ वर्षीया बालकलाई लाग्यो । कक्षामा बाँसको भाटा (बत्ति) लिएर पस्ने शिक्षकको प्रहारबाट घाईते सत्यम्कुमार साह अहिले उपचारको सिलसिलामा छन् । उनका बुबा श्यामप्रीत साह सोमबार ४ बजेपछि छोरालाई केहि होला की भन्ने चिन्तामा उपचारमा लिएर दौडिरहेको सुनाउँछन् ।

खासमा यस पटक सत्यम्लाई नै शिक्षक राजनले पिटेका थिएनन् । तर, निमोनियाले सानैदेखि थलिएका सत्यम् अर्कालाई हिर्काएको भाटा प्रहार समेत सहन बाध्य भए । अभिभावकलाई सत्यम्को दुखाईले सधैं सताईरहन्छ, त्यसमाथि शिक्षकको कुटाईले फुटाएको टाउको हेरेर दुःख अझै सहनु परेको सुनाउँछन् ।

बुबा श्यामप्रीतका अनुसार सत्यम्लाई झुक्किएर लागेको भनिएको भाटा, यो पहिलो भने हैन । यस अगाडी साँच्चैको भाटा हानेर टाउको फुलेको (टुटुल्को उठेको) थियो । त्यस बेला श्यामप्रीतले शिक्षक राजनलाई हटाउनुपर्ने माग बोर्डिङका प्रिन्सिपल मन्तोषकुमार साहसँग गरेका थिए । प्रिन्सिपल साहले सुधार गर्ने भनेपछि उनले छोरालाई विद्यालय पठाईरहेका थिए । तर, सोमबार विद्यालयको कक्षा कोठा भित्रै सत्यम्को टाउको फुट्यो, जसले श्यामप्रीतको मनमा भक्कानो छुटायो । खासमा उनको चित्त दुखााई भनेको ३ बजे छोराको टाउको फुटेको थियो । खबर ४ बजे मात्रै भयो । त्यो पनि रगतपिच्छे भएर सत्यम् घर पुगेपछि पटुवाबारीमा रहेका उनले थाहा पाएको सुनाए ।

‘टाउकोबाट बगेर घाँटीसम्म पुगेको रगत सुकिसकेको थियो, आँखा सुनिएको जस्तो अवस्थामा उन घर पुगेपछि श्रीमतीले खबर गरिन्’ श्यामप्रीतले भने–संरक्षण र शिक्षाका लागि विद्यालय पठाएको छोरालाई केहि असजिलो हुन्छ की भन्ने चिन्ताले सताउन थाल्यो ।
विद्यालयमा भएको घटनाले उनलाई असह्य भयो । उनले शिक्षक राजनसँग सोधखोज गर्दा झुक्किएर लागेको भने । तर, अगाडीदेखि नै आफ्नो छोरालाई बारम्बार मारपीट गरिरहेका राजनको अनुहारमा उनले गलत मनसाय पढे । त्यसपछि मुख खोलेर कराए । तर, उनीमाथि विद्यालय परिवारले उल्टै हुल्हुज्जत गरो । बलियाहरुको अगाडी निम्जाको केहि नलागेपछि उनी मौन बसे । प्रहरी चौकी मझारेमा गएर उनले निवेदन दिए । उनको निवेदन परेको थाहा पाएपछि विद्यालयका प्रिन्सिपल साहले समेत उजुरी दिएका छन् ।

स्थानीयका अनुसार बोर्डिङ स्कुलमा यस अगाडी अर्को एक विद्यार्थीलाई समेत खुट्टा भाँचिने गरी उनै शिक्षक राजनले हिर्काएका थिए । जुन घटना बाहिर आएन, विद्यार्थीको भाँचिएको खुट्टा उपचार गरिएको थियो । यस पटक भने जुन विद्यार्थीलाई हिर्काइएको थियो, उसैलाई लागेको भए घटना फरक हुनसक्ने आंकलन स्थानीय गर्दछन् । तर, झुक्किएर लागेका सत्यम्को टाउकोमा लागेको चोटले उनको अनुसार सुनिएको र आँखा गाडिएकोले सिटी स्क्यान गर्नुपर्ने भनिएको छ ।

विद्यालयका प्रिन्सिपल साहले घटना हुँदा आफू नभएको बताए । उनका अनुसार शिक्षकले अर्कोलाई होमवर्क किन नगरेको भनेर हल्लाई रहेको लाठ्ठीले सत्यम्लाई चोट दिएको सुनाए । उनको उल्टै गुनासो थियो, ्‘गल्ती भयो भनेर मेरो स्टाफले स्वीकार गरिसक्दा समेत आक्रमणको प्रयास किन गरियो ? स्थानीय अभिभावकले बोल्नुपर्छ ।’ प्रिन्सिपल साहले सामान्य घटना भएको बताउँदै आफ्नो शिक्षकको सुरक्षाका लागि प्रहरीमा निवेदन दिएको सुनाए ।

बाह्रवर्ष अगाडीदेखि स्थापना भएका विद्यालय कक्षा ६ सम्म सञ्चालनमा रहेको छ । प्रिन्सिपल साहका अनुसार २५० हाराहारीमा विद्यार्थी छन् । तर, निमोनियाले ग्रसित भएर भर्ना हुन ढिलाई भएपनि विद्यालय जान थालेका सत्यम्को पीडा अन्य विद्यार्थीका लागि समेत दुखिरहेको छ । किनकी बारम्बार विद्यालयमा हुने घटनाले बालमैत्री विद्यालयको परिकल्पना विपरित, बाहुबली प्रदर्शन हुने गरेको देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्