विराटनगर । विराटनगर महानगरपालिकाले स्वास्थ्य संस्थाहरूको अनुगमनलाई तीव्रता दिएको छ ।
महानगरकी उपमेयर शिल्पा निराला कार्की नेतृत्वको टोलीले विराटनगरका स्वास्थ्य संस्थाहरूको अनुगमन गरेको हो ।
अस्पतालहरूले प्रवाह गर्ने सेवा सुविधाका विषयमा जनस्तरबाट गुनासो आउन थालेपछि महानगरले अनुगमनलाई तीव्रता पारेको हो । उपमेयर कार्कीको नेतृत्वमा सामाजिक विकास समितिका संयोजक काजी बहादुर बस्नेत, कोशी अस्पतालका प्रतिनिधि राम नारायण यादव, स्वास्थ्य महाशाखा संयोजक डा.दिलीप कुमार यादव, स्वास्थ्य अधिकृत रमेश कार्की, उपमेयरका स्वकीय सचिव निश्चल मायालु लगायत सम्मिलित टोलीले बुधबार सिटी अस्पतालको अनुगमन गरेको छ । अस्पतालको अनुगमन गरी सुधार गर्नु पर्ने पक्षका विषयमा निर्देशन समेत दिएको थियो । टोलीले अस्पतालमा भर्ना भएका बिरामीहरूलाई सेवा सुविधाका विषयमा सोधपुछ गरेको थियो । त्यस्तै टोलीले सरसफाई, ल्याब व्यवस्थापन, एक्स-रे सेवाको गुणस्तर, स्टोर व्यवस्थापन लगायतको प्रत्यक्ष अनुगमन गरी आवश्यक सुझावहरू दिएको स्वास्थ्य महाशाखाका संयोजक यादवले जानकारी दिनुभयो ।
जनताको स्वास्थ्यमाथि खेलवाड भइरहेको भन्ने जनगुनासो आएपछि अनुगमनलाई तीव्रता दिइएको उपमेयर कार्कीले बताउनुभयो । स्वास्थ्य क्षेत्रप्रति महानगर गम्भीर रहेको बताउँदै उपमेयर कार्कीले स्वास्थ्य संस्था र अस्पतालहरूको अनुगमनलाई थप व्यापक बनाउँदै लगिने उल्लेख गर्नुभयो । उहाँले दर्ता नगरी अस्पताल सञ्चालन नगर्न, समयमै नवीकरण गर्न तथा तोकिएका मापदण्ड पालना गर्न आग्रह समेत गर्नुभयो ।