जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध नङ र मासुजस्तै हुनुपर्छ : मेयर कोइराला

<span class='c1'>जनप्रतिनिधि र कर्मचारीबीच सम्बन्ध नङ र</span> <span class='c2'>मासुजस्तै हुनुपर्छ : मेयर कोइराला</span>

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्नेमा जोड दिनुभएको छ ।
निजामती सेवा दिवसका अवसरमा शनिबार जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको शुभकामना तथा अन्तरसंवाद कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले जनप्रतिनिधि र कर्मचारीको सहकार्यले मात्रै मुलुकको विकास हुने दाबी गर्नुभयो । ‘जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ । तब मात्रै देशको विकास हुन्छ,’ उहाँले भन्नुभयो, ‘जनप्रतिनिधिले नीति नियम निर्माण गर्ने हो । त्यसको कार्यान्वयन गर्ने भनेको कर्मचारीहरूले नै हो ।’


कर्मचारी स्थायी सरकार भएको बताउँदै स्थायी सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा उहाँले जोड दिनुभयो । जनप्रतिनिधिहरू ५–५ वर्षमा जनताबाट अनुमोदित हुनुपर्ने बताउँदै मेयर कोइरालाले भने, ‘कर्मचारीहरूले एकपटक लोकसेवा पास गर्दा भयो तर राजनीति गर्ने हामीले त ५–५ वर्षमा जनअनुमोदित हुनुपर्छ । कर्मचारीहरूले जनतालाई दिने सेवा र कामसित जनप्रतिनिधिको भविष्य जोडिएको हुन्छ ।’
कोइरालाले कर्मचारीका समस्या समाधानका लागि आफू सधैं लागिपर्ने आश्वासन दिनुभयो । उहाँले कर्मचारीका हकअधिकार स्थापित गर्न जस्तोसुकै पहल गर्न आफू तयार रहेको स्पष्ट पार्नुभयो ।
त्यस्तै कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले निजामती कर्मचारीहरू व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दिवसका दिन एकपटक हरेक कर्मचारीले आत्मसमीक्षा गर्नु जरुरी रहेको स्पष्ट पार्नुभयो । मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले निजामती कर्मचारीहरू अझै पनि व्यावसायिक हुन नसकेको प्रस्ट पार्नुभयो । ‘हामी निजामती सेवामा रहेका कर्मचारीहरू कोही पनि कमजोर छैनौं । सबैको क्षमता छ,’ उनले भने, ‘तर अझै पनि हामी व्यावसायिक हुन सकेका छैनौं ।’


सरकारी कर्मचारीहरूले स्रोत र साधनको अभावका बीच पनि जनतालाई दिने सेवामा कुनै कमी नराखेको भट्टराईको भनाइ थियो । उनले भने, ‘निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरू एसीमा बसेर काम गर्छन् । उत्तिकै क्षमता र दक्षता भएको सरकारी कर्मचारी भने तरतरी पसिना चुहाउँदै जनताको सेवा गरिरहेका हुन्छन् । थुप्रै समस्याहरू छन् ।’
कार्यक्रममा निजामती कर्मचारी युनियनका मोरङका अध्यक्ष कृष्ण भट्टराई, आधिकारिक ट्रेड युनियनका अध्यक्ष फडिन्द्र अधिकारी, एकीकृत सरकारी कर्मचारी संगठनका सचिव नेत्र खतिवडा, शालिकराम कोइराला, काशी पराजुलीलगायतले ७ वर्षदेखि निजामती कर्मचारी ऐन संशोधन नहुँदा कर्मचारीहरू अन्यायमा परेको विचार व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्