‘सार्कको अध्यक्षता पाकिस्तानलाई सुम्पिन नेपाल आतुर छ’

<span class='c1'>‘सार्कको अध्यक्षता पाकिस्तानलाई सुम्पिन</span> <span class='c2'>नेपाल आतुर छ’</span>

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गरेका छन् । राजदूत हाश्मीले आज (सोमबार) सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् । सो अवसरमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको थियो।

भेटमा अध्यक्ष दाहालले नेपाल–पाकिस्तान कूटनीतिक सम्बन्ध ६ दशक पूरा भएपनि जनस्तरको सम्बन्ध वर्षौं पुरानो रहेको बताए । विभिन्न क्षेत्रीय र बहुपक्षीय फोरमहरुमा नेपाल पाकिस्तान मिलेर काम गरिरहेको चर्चा गर्दै अध्यक्ष दाहालले दक्षिण एसियाली सहयोग संगठन (सार्क)को अध्यक्षको हैसियतले नेपालले पाकिस्तानलाई अध्यक्षता सुम्पिन आतुर रहेको बताए ।

‘सार्कको अध्यक्षता नेपालले गरिरहेको सन्दर्भमा यसको सक्रियताका लागि हामी निकै गम्भीर छौं’, उनले भने, ‘सार्कलाई क्रियाशील बनाउन पाकिस्तानले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्नेमा म आशावादी छु। हामी पाकिस्तानलाई अध्यक्षता सुम्पन आतुर छौं।’दुई देशबीच संयुक्त आर्थिक आयोग, द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र लगायतका विभिन्न फोरमहरु रहेको चर्चा गर्दै अध्यक्ष दाहालले तिनको क्रियाशीलताले मात्रै दुई देश बीचको आपसी सहयोग र सहकार्य थप मजबुत र बिस्तार हुने बताए ।

नेपालको संघीय संसदले नेपाल(पाकिस्तान मैत्री समूह गठन गरेको जानकारी गराउँदै अध्यक्ष दाहालले संसदीय अभ्यास अनुभव आदान प्रदान र सहकार्यका लागि संसदीय समूहको महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिए । पाकिस्तानले प्राविधिक सहायता कार्यक्रममार्फत् नेपाली विद्यार्थीलाई विभिन्न विषयमा छात्रवृत्ति प्रदान गर्दै आएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा छात्रवृत्तिको संख्यामा वृद्धि हुनेमा आफूहरु आशावादी रहेको बताए ।
नेपाल(पाकिस्तान लगायतका हिमाली तथा कम विकसित मुलुकहरु जलवायु परिवर्तनको असरको उच्च जोखिममा रहेको भन्दै अध्यक्ष दाहालले पर्यावरणीय संकटको सामना गर्न सहकार्य, सहयोग र साझा समझदारी जरुरी रहेको बताए ।

जनताको ठूलो बलिदान र सङ्घर्षपछि नेपाल शान्ति प्रक्रिया टुङ्ग्याएर आर्थिक समृद्धिको बाटोमा लागिरहेको चर्चा गर्दै अध्यक्ष दाहालले पाकिस्तान सरकार तथा निजी क्षेत्रका लगानीकर्ताहरुलाई नेपालको जलविद्युत, पर्यटन, आइसिटी लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे । उनले हालै सम्पन्न पाकिस्तानको संसद सिनेटको अध्यक्षमा निर्वाचित युसुफ रजा गिलानीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । सो अवसरमा पाकिस्तानी राजदूत अबरार एच हाश्मीले दुई देशबीच कृषि, पर्यटन लगायतका क्षेत्रमा आपसी सहकार्य फलदायी हुने बताए । उनले नेपालमा साहसिक पर्यटन, सांस्कृतिक, पर्यावरणीय पर्यटनको अथाह सम्भावना रहेको चर्चा गर्दै दुई देशबीच पर्यटन प्रवर्द्धनका कामहरु गर्न सके जनस्तरको झनै बलियो बन्ने विश्वास व्यक्त गरे ।
सार्कको गतिशीलता आफूहरुको पनि चाहना रहेको भन्दै राजदूत हाश्मीले त्यसको पुनर्ताजगीकरण गर्न जरुरी रहेको र त्यो निकै महत्त्वपूर्ण रहेको बताए । इन्टरनेट प्रविधिको विकासले नयाँ आयाम थपिएको भन्दै राजदूत हाश्मीले ई(कमर्श, आइसिटीका क्षेत्रमा दुई देशले आपसमा सहयोग र सहकार्य गर्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्