रंगेली नगरपालिकामा करका दर बृद्धि विरुद्ध आन्दोलन : छिमेकी स्थानीय तह भन्दा कम, त्यहि पनि रोकथाम

<span class='c1'>रंगेली नगरपालिकामा करका दर बृद्धि विरुद्ध आन्दोलन :</span> <span class='c2'>छिमेकी स्थानीय तह भन्दा कम, त्यहि पनि रोकथाम</span>

विराटनगर । मोरङको रंगेली नगरपालिकाले घर जग्गा करका दर मनोमानी ढंगबाट तोकेको आरोप लगाउँदै नेपाली काँग्रेसले गरेको आन्दोलनका कारण दैनिक प्रशासनिक कामकाजमा समस्या सिर्जना भएको छ । नेपाली काँग्रेसको नगर समितिले नागरिकमाथि जर्बरजस्ती कर तोकिएको आरोप लगाउँदै सच्याउन माग राखेर आन्दोलनमा उत्रिएको हो ।

रंगेली नगरपालिकाले चालु आर्थिक वर्षमा तोकेको सम्पति कर अध्याधिक भएको आरोप काँग्रेसको छ । आन्दोलनको नेतृत्व गरिरहनु भएका नेपाली काँग्रेस मोरङका सचिव एवं स्थानीय तह निर्वाचनमा प्रमुख पदमा पराजित मोदराज घिमिरेले बिहीबार कार्यालय समयमा कर्मचारीलाई प्रवेशमा रोक लगाइएको दावी गरेका छन् । यद्यपी प्रमुख प्रशासकिय अधिकृत ओमकार न्यौपानेले भने कार्यालय सयममा कर्मचारी कार्यकक्षमा प्रवेश गरेर सेवाग्राहीका काम दिनभर गरेको बताए ।

करका दर बृद्धि गरिएको भन्दै काँग्रेसले २०८१ भदौ २ गते घटनाउनु पर्ने मागसहित ज्ञापनपत्र बुझाएको थियो । त्यसलाई सम्बोधन गर्न प्रमुख दिलिप बगडीयाले भदौ २१ गते छलफल राखेका थिए । त्यस क्रममा एक्कासी बढाइएको कर घटाउनपर्ने काँग्रेस अडानमा प्रमुख बगडीया सहमत हुन सकेनन् । छलफल बिना निष्कर्ष टुङ्गिएपछि २३ गतेदेखि काँग्रेसले चरणवद्ध आन्दोलन गर्दै आएको हो ।

रंगेलीमा दोस्रो कार्यकाल प्रमुखको जिम्मेवारी पूरा गरिरहेका बगडीया भने भाईको उपचारका लागि भारतमा रहेका छन् । उनले शुक्रबारसम्ममा आफ्नो नियमित काममा फर्कने बताएका छन् । ‘म भारतबाट फर्कदैछु, भोलिदेखि नियमित काममा आउँछु’ प्रमुख बगडीयाले भने–त्यहाँ भएको आन्दोलन राजनीतिका लागि मात्रै हो ।

रंगेलीमा बगडीया बिरुद्ध पहिलो कार्यकालमा समेत नेपाली काँग्रेसले विभिन्न किसिमका आन्दोलन गरेको थियो । तर, त्यसको परिणाम भने निर्वाचनमा काँग्रेस पराजय बाहेक अर्को आउन सकेन । यस पटक करका दरमा गरिएको बृद्धिको आन्दोलनमा समेत काँग्रेसले त्यहाँको शहरीकरण र विकास, मोरङका अन्य स्थानीय तहको करका दरको अध्ययन बिना नै आन्दोलन घोषणा गरेको बगडीया पक्षका व्यक्तिहरुको भनाई छ । यद्यपी काँग्रेस सचिव घिमिरेले भने अघिल्ला आर्थिक वर्षहरुमा करका दर बढाइएन भनेर चालु आर्थिक वर्षका लागि १५० प्रतिशतसम्म बृद्धि गर्ने कुरामा विरोध भईरहेको बताए ।

अर्को गज्जबको विषय के छ भने, रंगेली नगरपालिकामा करका दर बृद्धि गरिएको भन्दै भईरहेको आन्दोलनमा अन्य स्थानीय तहका प्रमुखहरुले समेत पुगेर ऐक्यवद्धता जाहेर गर्दै आएका छन् । तर, ऐक्यवद्धता जाहेर गर्ने अन्य स्थानीय तहले तोकेको करका दरको तुलनामा रंगेलीको समान नै देखिन्छ । बिहीबार धनपालथानका जीवछ गच्छदारले काँग्रेसको आन्दोलनमा पुगेर भाषण गरेर फर्केका छन् । यस अगाडी विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला समेत त्यहाँ पुगेको फोटो सार्वजानिक भएको छ । यद्यपी कोइराला पार्टी कामको शिलशिलामा जाँदा काँग्रेसका कार्यकर्तालाई त्यहाँ पुगेर भेट गरेको उनी निकटले बताएका छन् ।

आन्दोलन पक्षधरको के छ भनाई ?
आन्दोलनको नेतृत्व गरिरहेका काँग्रेसका जिल्ला सचिव तथा रंगेलीमा प्रमुख पदका उमेदवार भई बगडीयासँग पराजित भएका मोदराज घिमिरेका अनुसार पहिलो पटक निर्वाचित हुँदा कर सामान्य थियो । २०८०÷२०८१ मा २० रुपैँया प्रतिकठ्ठा कर लगाएको खेतीयोग्य जमिनमा ३४ रुपिँया पुगेको छ । हुलाकी राजमार्गले छोएको जग्गामा प्रतिकठ्ठा ५० रुपैँयाबाट बढाएर १७९ बनाइएको छ । यसमा काँग्रेसले यदि राजमार्गसँग छोएको कसैको २÷३ बिघा जमिन भए २ कठ्ठाको मात्रै कर लिएर बाँकीलाई कृषियोग्य जमिन सरह हुनुपर्ने माग गरेको छ ।
यसैगरी बजारका घरायसी घरमा कर थिएन । व्यापारिक घरको १० प्रतिशत वहाल कर वापत बुझाउने नियम थियो । अहिले प्रत्येक घरमा कर लगायो । नम्बरी जग्गामा बनेका फुसका १०० रुपैँया, अलिक बस्न हुने घरलाई २०० सय, काठको टाँडे घरलाई ३५०, तल पक्की माथि टिन भए ४०० रुपैँया तोकियो । यदि बजारमा दुई तले पक्की घर भए प्रतिवर्गफुट १.५ रुपेँया तोकिएको छ । यसो गर्दा पक्की घरले १० देखि १२ हजार रुपैँया बुझाउनुपर्छ । कसैले विदेश गएर घर बनाएको भएपनि उसले कर तिर्न नसक्ने स्थिति छ । व्यापारिक घर भए वहाल कर पनि बुझाएकै छ । फुसको घरलाई कर नलिनु बाँकीलाई लिएको ठिक छ । पक्की घरलाई बढी भयो । जग्गाको छुट्टै र जग्गामा बनेको घरको छुट्टै कर बुझाउन सक्ने अवस्था छैन । करको बृद्धि भनेको महंगीका आधारमा बृद्धि गर्ने तलवमानमा हुन्छ । एक रुपैँया नबुझाएकालाई दश हजार लिन खोज्दा नागरिकले विरोध गर्नु सामान्य हो । कोरोनापछि नागरिक पीडित छन् ।

अन्य स्थानीय तहसँग रंगेलीको कर तुलना
रंगेली नगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷२०८२ का लागि तय गरेको सम्पति करमा पूर्व–पश्चिम हुलाकी राजमार्ग उत्तर दक्षिण हुलाकी राजमार्गमा प्रतिकठ्ठा १६९.१ तोकेको छ । कालोपत्रे भएका भित्री सडक शाखामा १०१.५८६ प्रतिकठ्ठा छ । रंगेली पूर्व रहेको सुनवर्षीले रंगेली–उर्लाबारी सडकले छुने वडा नम्बर ६ र ८ को प्रतिवर्ग मिटर २६४० मूल्यांकन भएको जग्गाको प्रतिकठ्ठा २७५ तोकेको छ । धनपालथान गाउँपालिकाले साविक हुलाकी सडकले छुने घडेरीको एकसय र खेतियोग्यको ५० रुपैँया प्रतिकठ्ठा तोकेको छ । यसैगरी रंगेलीमा ग्राभेल सडकले छोएको ६७.७२४ प्रतिकठ्ठा तोकिएको छ । सुनवर्षीमा ग्राभेल बाटोले छोएको जग्गाको १६५ तोकेको छ । धनपालथान गाउँपालिकाले भने ७५ घडेरी र खेतीयोग्यको हकमा ४० रुपैँया प्रतिकठ्ठा तोकेको छ । यसैगरी ग्रामिण सडकले छोएका जग्गाहरुमा रंगेलीले ५० रुपैँया प्रतिकठ्ठा, सुनवर्षी नगरपालिकाले कच्चि तथा प्लटिङ्ग बाटोले छोएकोमा १६५ प्रतिकठ्ठा र धनपालथानले घडेरी भए ४० र खेतीयोग्य भए ३० रुपेँया तोकेको छ । रंगेलीले सडकहरुले नोएको खेती योग्य जमिनको ३३ रुपैैया प्रतिकठ्ठा तोकेको छ । सुनवर्षी नगरपालिकाले ५५ रुपैँया र धनपालथान गाउँपालिकाले भने २५ रुपैँया तोकेको छ । पछिल्लो समयमा शहरीकरणको रुपमा विकास भएको रंगेली मोरङका धेरै स्थानीय तहमध्ये अब्बलमा पर्दछ ।
रंगेली नगरपालिकाले तोकेको करका दरसँग विराटनगर, ईटहरी र लेटाङको तुलनामा समेत न्यून कर देखिन्छ । रंगेलीले जग्गामा न्यूनतम ३३.८६ देखि अधिकतम १६९.२१ रुपिँया प्रतिकठ्ठा कर तोकेको छ । विराटनगरको न्यूनतम १०० देखि अधिकतम १५०० प्रतिकठ्ठा छ । लेटाङको न्यूनतम १०० देखि अधिकतम ३०० छ । चारैतिर राजमार्गले छोएको इटहरीको न्यूनतम १५० देखि अधिकतम २१ हजार १५० प्रतिकठ्ठा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्