विराटनगर । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने टिप्पणी गरेका छन् ।
विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले उपसभामुखले नजानेर टेक्निकल्ली रुपमा केही त्रुटी गरेको भन्दै त्यसको लागि पदबाट हटाउनेसम्म जान नपर्ने बताए ।
उनले भने, ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त भएको व्यक्ति हुन् तर टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नुभयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला ।’ उनले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै सबै उक्त पदका लागि योग्य भएको बताए ।
उनले भने, ‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नुपर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’उनले संबैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने पनि बताए ।
यसको साथै, उनले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने पनि बताए ।
उनले भने, ‘एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपव्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ ।’