काठमाडौँ । विमान कम्पनीहरूले आगामी तीन दिनसम्म अधिकतम मूल्यमा हवाई टिकट बिक्री नगर्ने भएका छन्। विपत्तिको समयमा महँगो शुल्कमा हवाई टिकट बिक्री गरेको भन्दै नागरिकस्तरबाट चर्को आलोचना भएपछि वायुसेवा सञ्चालक सङ्घको आजको बैठकले उक्त निर्णय गरेको हो।
सङ्घका अध्यक्ष मनोज कार्कीले सोमबार, मङ्गलबार र बुधबारसम्म यात्रुलाई टिकट बिक्री गर्दा अधिकतम मूल्य नलिने निर्णय भएको जानकारी दिनभयो।
उहाँले यसका लागि सरकारसँग पनि इन्धन, विमानस्थल शुल्क, ल्यान्डिङ र पार्किङलगायतको शुल्कमा छुट गर्न आग्रह गरिएको बताउनुभयो। यसो भएको अवस्थामा हवाई भाडादर अझै घटाएर यात्रुलाई सहुलियत दिन सकिने उहाँको भनाइ छ।
हवाई भाडा महँगो भएको आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत विपत्तिको समयमा यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्न अनुरोध गर्नुभएको थियो।
हवाई भाडादर बढी लिएको चर्को आलोचना भएपनि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले पनि विपद्को अवस्थामा यात्रुसँग बढी भाडा नलिन विमान कम्पनीहरूलाई आग्रह गरेको जनाएको छ। “कम्तीमा विपद्को समयमा मानवीय पक्षलाई पनि हेरेर हवाई भाडा सस्तो दरमा उपलब्ध गराउन आग्रह गरेका छौँ”, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो।
हाल अधिकांश सडक अवरुद्ध भएको अवस्थामा यात्रुको चाप बढेकाले हवाई भाडा बढेको हुनसक्ने उहाँको भनाइ छ। “एयरलाइन्सले लिएको भाडा गैरकानुनी होइन, प्राधिकरणले न्यूनतम र अधिकतम भाडादर तोकेको हुन्छ सोहीअनुसार उनीहरूले भाडा निर्धारण गर्ने चलन छ”, उहाँले भन्नुभयो।
हाल काठमाडौँ आउने मुख्य सडकमार्ग बाढी तथा पहिरोका कारण अवरुद्ध छन्। यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प भएको हवाई उडानको भाडादर अस्वाभाविक रूपमा बढाइएको भन्दै नागरिकस्तरबाट आलोचना भएको हो।
फोटो:फाइल