मजदुरबाट आफ्नै सफारीको मालिक बन्यो दश परिवार

<span class='c1'>मजदुरबाट आफ्नै सफारीको मालिक</span> <span class='c2'>बन्यो दश परिवार</span>

विराटनगर । विराटनगर महानगरपालिका- ७ का हरियाली टोलका आनन्दी कामतले लामो समय अरुको सिटी सफारी भाडामा चलाए । दैनिक ६ सय रुपैयाँ भाडामा सिटी कुदाउने कामतले बुधबार नयाँ रिक्सा पाएका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्थाले नयाँ सिटी सफारी उपलब्ध गराएको हो । ‘१५ वर्षजति अरुको चलाए, आज आफ्नै भयो,’ सिटी सफारी पाएपछि कामतले भने,‘दुई वर्ष किस्ता तिरेपछि त आफ्नै भइहाल्छ।’

विराटनगरका गोपाल बर्देवाले पाँच वर्ष सिटी सफारी भाडामा कुदाए, जीवन विकास लघुवित्त वित्तीय संस्थाको आर्थिक सहयोगमा नयाँ सफारी पाएपछि उनको आफ्नै सफारी कुदाउने धोको पुरा भएको छ । जीवन विकासले सहज किस्तामा सिटी रिक्सा उपलब्ध गराएपछि सजिलो भएको उनले बताए । विराटनगर- १२ का बाबु मण्डल मजदुरी गर्थे । आफ्नै काम गर्ने उनको चाहना आज पुरा भएको छ ।

आनन्दी, गोपाल र बाबुसहित जीवन विकासले बुधबार ९ जनालाई यात्रु बोक्ने र एक जनालाई मालसामान बोक्ने सफारी उपलब्ध गराएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले सफारी हस्तान्तरण गर्दै सफारी प्राप्त गर्ने परिवारको आर्थिक अवस्था विस्तारै सुधार हुने उनले बताए । ‘तपाईँहरूको आर्थिक अवस्था सुधार हुन्छ, आम्दानी बढ्यो भने बालबालिकाको पढाई र घरको अवस्था सबै सुधार हुन्छ,’ उनले भने,‘ हिजोसम्म अरुको चलाउनुहुन्थ्यो, आजबाट आफ्नो काम गर्नुहुन्छ, आफ्नो सफारीको मालिक आजदेखि बन्नुभयो ।’

जीवन विकासले गरिबी, बेरोजगारी र वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेको बताउँदै उनले सिटी सफारी प्रयोगले यी तीनवटै समस्याको समाधानमा सहयोग पुग्ने बताए । बजार क्षेत्रमा सिटी सफारी भाडामा कुदाउँदा चालकले दैनिक ६-७ सय रुपैयाँ तिर्ने गरेका छन् । जीवन विकासबाट लिएको सफारीको दुई वर्षसम्म दैनिक ४५३ रुपैयाँ किस्ता तिरे सफारी चालककै हुने जीवन विकासको उद्यमशीलता विकास विभाग प्रमुख मनोज शर्माले बताए ।

उनका अनुसार सदस्यले दैनिक ७ सय रुपैयाँ जम्मा गर्नेछन् । सो रकमबाट ४५३ रुपैयाँ किस्तामा जम्मा हुनेछ । बाँकी रकम उहाँहरुकै बचतमा जम्मा हुनेछ । सिटी सफारी हस्तान्तरणका लागि गणपति पीजी सप्लायर्सले सहजीकरण गरेको थियो । २४ जिल्लामा १६० वटा शाखा कार्यालय मार्फत विपन्न परिवारलाई घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले उद्यमशीलता विकास अभियान अन्तरगत २ हजार ५ सय बढी परिवारलाई सिटी सफारी उपलब्ध गराइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्