विराटनगर महानगरद्वारा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सुरु

<span class='c1'>विराटनगर महानगरद्वारा जडान गरिएको</span> <span class='c2'>ट्राफिक लाइटको परीक्षण सुरु</span>

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले जडान गरेको ट्राफिक लाइटको पहिलो चरणमा परीक्षण सुरु गरिएको छ ।

केही दिनको परीक्षण गरेपछि मात्रै ट्राफिक लाइटको पूर्ण कार्यान्वयनमा लैजाने मेयर नागेश कोइरालाले बताउनुभयो । मेयर कोइरालाको उपस्थितिमा ट्राफिक प्रहरी, नगर प्रहरी, इन्जिनियर, परामर्शदातालगायतसँग बुधबार भएको छलफलपछि पहिला परीक्षण गर्ने र त्यसपछि नियमित कार्यान्वयनमा लाने निर्णय भएको हो । परीक्षण नगरी कार्यान्वयनमा जाँदा ट्राफिक व्यवस्थापन समस्या आउने निष्कर्षसहित पहिलो चरणमा पाँचवटै लाइटको परीक्षण गरिने भएको हो ।

लाइटको परीक्षणसँगसँगै सर्वसाधारणमा सचेतनामूलक सन्देशसमेत प्रवाह गरिने मेयर कोइरालाले बताउनुभयो । ‘ट्राफिक प्रहरी र नगर प्रहरीले ट्राफिक लाइटको परीक्षणका क्रममा देखिएका समस्याहरुको पहिचान गरी समाधानको उपायसहित महानगरलाई सुझाव दिनेछ,’ उहाँले भन्नुभयो, ‘त्यसपछि समस्या देखिएमा समाधान गरिने र नदेखिएमा नियमित कार्यान्वयनमा लगिनेछ ।’

ट्राफिक प्रहरीसँगको समन्वयमा नगर प्रहरीले पनि ट्राफिक लाइटमार्फत विराटनगरको ट्राफिक व्यवस्थापन गर्न सघाउनेछ । पाँचवटै स्थानमा ट्राफिक लाइट जडान र आवतजावतका लागि ट्राफिक संकेत चिन्ह (रोड मार्किङ) समेत राखिसकिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षणपश्चात ट्राफिक लाइटको औपचारिक रुपमा उद्घाटन गरिनेछ । उद्घाटनपछि भने लाइटमार्फत नियमित ट्राफिक व्यवस्थापन गरिनेछ ।
महानगरले ७७ लाख रुपैयाँको लागितमा विराटनगरको तीनपैनी, जलजला, कञ्चनबारी, रोडशेष र घाँसचोकमा ट्राफिक लाइट जडान गरिसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिकाभित्र दैनिक करिब ९५ हजार सवारी साधन गुड्ने गरेका छन् ।

ट्राफिक लाइटको नियमित कार्यान्वयनमा आएपछि विराटनगरको ट्राफिक समस्याको समाधान हुने पौडेलले विश्वास लिनुभयो । यसअघि प्रदेश सरकारले बरगाछीमा ट्राफिक लाइट जडान गरेर नियमित कार्यान्वयनमा ल्याइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्