विराटनगर । कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेपछि उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर उनलाई काठमाण्डौं पठाउन लागेको हो । मोरङ प्रहरी उपरीक्षक नारायण चिमरीयाले पक्राउ गरिएको पुष्टि गरेका छन् । उनलाई काठमाण्डौं पठाउने तयारी भईरहेको छ ।
कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए ।
तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो । मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।