विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई नियन्त्रणमा लिएर काठमाण्डौं पठाइएको छ । विराटनगर–२ स्थित निवासबाट पक्राउ परेका उनलाई मानव तस्करीको आरोपमा अनुसन्धान गर्नका लागि काठमाण्डौं पठाइएको हो । अधिकारीलाई आइतबार अदालतबाट पक्राउ अनुमति लिनेबितिकै प्रहरीले निगरानीमा राखेको थियो । अधिकारीलाई नियन्त्रणमा लिएपछि काठमाण्डौं पठाउने जहाजको वेट हुँदासम्म विराटनगर २ निवासमै राखिएको थियो । बाहिरी परिसरमा प्रहरीले घेरा हालेर बसेपछि उनी घर भित्र बसेका थिए । विराटनगरबाट उनलाई १ः५० मा एतिएयर लायन्सबाट लगिदैछ ।
नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनीहरु विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका अधिकारी भने नियन्त्रणमा परेका थिएनन् । आइतबार उनलाई पक्राउ गरेर काठमाण्डौं पठाइएको मोरङ प्रहरी उपरीक्षक नारायण चिमरियाले जानकारी दिएका छन् ।
शंकास्पद कागजातका कारण जापानबाट फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबार आइपुगेका थिए । चारजना सँगै आएपनि तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि मन्त्री अधिकारी कुरा मिलाएर फुत्ते उम्किएका थिए ।
त्यहि दिन रसुवाका कञ्चन देवकोटा तथा खोटाङका दावा शेर्पा र जनक राई समातिएका थिए । एकै प्रकृतिको कसुर देखिएको र एउटै समूहमा रहेका व्यक्तिको नेतृत्व गरेका मन्त्री अधिकारीलाई अध्यागमनले सहजै छाडिदिएको भन्दै आलोचना भईरहेको छ । तत्कालीन मन्त्री अधिकारीको नेतृत्वमा चारै जना आर्ट्स काउन्सिल टोकियोले अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि आयोजना गरेको ‘कल्चर एट होट’ कार्यक्रममा भाग लिन भनेर जापान उडेका थिए । अधिकारीसँग रहेका तीन युवालाई जापानबाट भगाउने गिरोहको योजना रहेको थियो । टोकियोको विमानस्थलस्थित अध्यागमनले उनीहरुलाई प्रवेश नै नदिई फर्काइदिएको थियो ।
ती तीन जनाको बयानका आधारमा प्रहरीले नुवाकोटको विदुरका जुगल रिजाल, दोलखाको जिरीका वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरीका महेश पाण्डेलाई पनि पक्राउ गरेको थियो । जापानबाट फिर्ता गरिएका युवाले पाण्डेलाई प्रतिव्यक्ति १० देखि १३ लाख रुपैयाँसम्म बुझाएको बयान दिएका छन् । पाण्ेडले नै अधिकारीलाई अन्तिम समयमा विदाई गरेका थिए । उनीहरूमाथि पछिल्लो समय जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।