विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका सबै ट्राफिक प्रहरी कार्यालय नै खालि गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी आवागमन मिलाउन व्यस्त भएपछि कार्यालय पुगेका सेवाग्राहीले आक्रोश पोखेका छन् । सेवा लिन आएका सेवाग्राहीले कार्यालयमा चिट काट्ने समेत ट्राफिक प्रहरी नदेखेपछि चासो राखेका थिए । त्यसबेला प्रधानमन्त्री आएका कारण सवारी आवागमन व्यवस्थापन गर्न गएको खबर पाएपछि उनीहरु आक्रोशित बनेका थिए ।
प्रधानमन्त्री ओली धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आयोजना हुने दीक्षान्त समारोहमा सहभागि हुन बिहान विराटनगर हुँदै धरान गएका थिए । त्यस क्रममा प्रधानमन्त्री ओली विराटनगर विमानस्थलबाट धरान जानु अगाडी विराटनगर–२ स्थित होटल ह्यारिसनमा पुगेका थिए । अचानक सेड्युल नै नभएको ह्यारिसन पुग्ने कार्यक्रम तय भएपछि अत्तालिएको सुरक्षा संयन्त्रले एकै पटक कार्यालय छोडेर सडकमा निस्कनु परेको हो । विराटनगर विमानस्थलदेखि होटल ह्यारिसनसम्म प्रधानमन्त्री जाने भएपछि अकस्मात सवारी व्यवस्थापनमा ट्राफिक जनशक्ति परिचालित भएको थियो ।
कार्यालयमा एक जना संचारका कर्मचारी बाहेक कोही पनि नभएपछि त्यहाँ पुगेका सेवाग्राहीले पाउनसम्मको दुःख पाएको बताएका छन् । विराटनगर ८ बलुवाहीका सिटी चालक रामलाल महतो सोमबार १० बजे ट्राफिक प्रहरी कार्यालय पुगेका थिए । कार्यालयमा संचारका कर्मचारी बाहेक कोही पनि भेटेनन् ।
उनको ट्राफिक प्रहरीले आईतबार नै चिट काटेको थियो । तर उनलाई ११ बजे सम्म सिटी रिक्साको किस्ता तिर्नुपर्ने बाध्ययता थियो । उनले झन्डै २ घन्टा भन्दा बढी कुर्नुपयो । उनले ट्राफिक प्रहरीका सम्बन्धित व्यक्ति नभेटेपछि सेवामा समस्या भएको आवर विराटनगरसँग गुनासो गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयको सञ्चार शाखामा रहेका प्रहरीले सवारी कारवाहीको भुक्तानी रसिद काटिदिएनन् । अन्य सबै ट्राफिक प्रहरीले प्रधानमन्त्रीलाई प्राथमिकतामा राख्नु परेको थियो । एयरपोर्टदेखि दुहबीको बुढी पुलसम्मको सवारी व्यवस्थापनका लागि ट्राफिक खटिएर बाँकी कार्यालयमा रहेका थिए । तर, अचानक ह्यारिसनमा प्रधानमन्त्री आउने भएपछि त्यहाँदेखि ह्यारिसन रुट क्लियर गर्नुपर्ने अर्को दायित्व थपिएको थियो । कम जनशक्ति भएका थप मद्दत माग्ने समय समेत थिएन । त्यसले गर्दा आपतकालिन अवस्था जस्तो प्रधानमन्त्रीका पछि दौडनु परेको हो । त्यसको मार भने यता कार्यालयमा सेवाग्राहीले लिएका थिए ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालले भने आफुहरुको बाध्यता रहेको जवाफ दिए । ‘सम्माननिय प्रधानमन्त्रीज्यू विराटनगरमा होल्ड हुने कुनै सूचना बिहानसम्म थिएन, अचानक भएपछि हामीले रुट व्यवस्थापनमा खटिनु पर्ने भएको हो’ प्रमुख लम्सालले भने–दायित्व पूरा गर्नुपर्ने भएर मात्रै कार्यालयमा सेवा प्रवाह गर्न नसकेका हौं , सेवाग्राहीसँग हामी क्षमाप्रार्थी छौं ।
अहिले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गमा ७० जनाको संख्याको जनशक्ति रहेको छ । विराटनगरमा ३० देखी ३५ जना दैनिक खटिने गरेका छन् । प्रधानमन्त्री आउँदा सबै सुरक्षा संयन्त्रको सतर्कता हुनु त जरुरी नै हुन्छ । तर, ट्राफिक कार्यालयमा सेवाग्राहीको सेवा रोकिएको मात्रै नभई विमानस्थलमा पनि आमसर्वसाधण तथा यात्रुहरुले नराम्रोसँग दुःख भोग्नु परेको गुनासो गरेका छन् । विराटनगरबाट काठमाडौँ जाने यात्रुहरुलाई आधा किलोमिटर टाढा नै आ–आफ्ना सवारी साधनबाट उत्रिएर आफै सामान बोकेर हिँड्न लगाइएको थियो । बिहानैदेखी विमानस्थल वरपर आमसर्वसाधरलाई हिडडुल गर्न सवारीसाधानमा कडाई गरिएको थियो । विमानस्थाल जानको लागि वृद्धवृद्धा तथा सानाबालबालिकालाई पनि दुःख भोग्नु परेको हो । जसले प्रधानमन्त्रीकै छवीमा आँच आउने गरि सर्वसाधारणले आक्रोश पोखेका छन् ।