विराटनगर । सुनसरीको धरान–१७ स्थित कृषि फार्मबाट ३२० केजी गाँजा बरामद भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयको लागुऔषध विशेष ब्यूरोको टोलिले सुप्रिम एग्रिकल्चर फार्मबाट मंगलबार राती १० बजे छापा हानेर गाँजा बरामद गरेको हो ।
धनकुटाको साँघुरिगढी ८ घर भएका मणिराज राईले धरानमा सञ्चालन गरेको कृषि फार्मको कोठामा लुकाएर राखेको अवस्थामा दश बोरा गाँजा प्रहरीले बरामद गरेको हो । प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले विशेष सूचनाका आधारमा गाँजासहित फार्म सञ्चालक राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धानको प्रक्रिया भईरहेको जानकारी दिएका छन् ।
यसैगरी मोरङ प्रहरीले गाँजा बिक्री गरिरहेको सूचनाका आधारमा विराटनगर महानगरपालिका–४ र कटहरी गाउँपालिका १ बाट आठ केजी गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीका अनुसार गाँजा बिक्री बितरण हुने गरेको सूचनाका आधारमा खानतलासी गरिएको हो ।
प्रहरीले मोरङको कटहरी १ बस्ने वर्ष ४१ को गोपाल कुमार राजवंशीको घरबाट पाँच केजी गाँजासहित उनलाई पक्राउ गरेको छ । विराटनगर ४ बस्ने वर्ष ६२ को सहरुदिन मिँयाको घरबाट तीन केजी गाँजासहित उनलाई पक्राउ गरेको छ ।