विराटनगर । हिउँद लाग्यो, पूर्वाधारका योजना कार्यन्वयन गर्ने समय सुरु भएको छ । संघ, प्रदेश र स्थानीय सरकारका योजनाहरु कार्यन्वयन गर्ने कार्यक्रम र बजेट गत जेठ\असारमा आईसकेको छ । तर, जेठ÷असारको बजेटले साउन÷भदौको भेल भने कहिल्यै सम्बोधन गर्दैन ।
वर्षेनी डुबानको समस्यामा शहरहरु फस्दै गएका छन् । देशका अन्य शहरले डुबान र पानी क्षति असोजमा समेत नराम्रोसँग झेल्यो । विराटनगर महानगरपालिकामा समेत यो वर्ष दुई पटक डुबानको समस्या आईलाग्यो । असार र असोजमा डुबान बेहोरेको विराटनगरको निकास खोज्ने बजेट भने न्यून देखिएको छ । विराटनगर महानगरपालिकाले वडा नम्बर १३, १४, १५ र १७ मा वर्षातको पानीको निकासका लागि आईसिपी रोड पूर्व रेलवे ट्रयाक हुँदै सिंघिया खोलाम्म स्ट्रोम ड्रेनको डिपिआर बनाई कार्यँन्वयनमा ल्याउने कार्यक्रम उल्लेख गरेको छ । त्यस बाहेक वडा नम्बर १ र ३ मा रहेको सुनसरी मोरङ सिंचाईको नहरलाई स्ट्रोम ड्रेन र वल्किङ्ग स्ट्रिट बनाउन अध्ययन गर्ने उल्लेख छ । वर्षात्मा डुबेका नागरिकले महानगरको यो अध्ययन मात्रै गर्ने कार्यक्रमसँग खासै चित्त बुझाएको देखिदैन ।
महानगरपालिकाले गतवर्षदेखि दक्षिणी क्षेत्रका १३, १४, १५ र १६ को निकासका लागि कोशी राजमार्ग समानान्तर नाला निर्माणको काम सुरु गरेको छ । गतवर्ष ट्रयाक मात्रै निर्माण गर्दा पनि त्यसले पानीलाई सहज निकास दिएको थियो । त्यसलाई मध्यनजर गर्दै यस वर्ष एक करोड ३० लाख बजेट बिनियोजन गरेको छ ।
त्यस्तै कोशी राजमार्ग अन्तर्गत विराटनगर–३ कन्चनबारी उत्तरतर्फबाट समानान्तर नाला निर्माणका लागि ४० लाख रुपैँया बिनियोजन गरेको छ । महानगरपालिकाले सिंचाई नहरलाई स्ट्रोम ड्रेन बनाउन अध्ययन मात्रै गर्ने भनेपनि यता समानान्तर नालाका लागि बजेट राखेको हो । तर, ढाटदेखि पूर्व–दक्षिण कन्चनबारीसम्म हुने डुबानको निकासका लागि उचित बजेट प्रवन्ध नगरिएको भन्दै स्थानीयहरुले पुनः ध्यानाकर्षण गराउने तयारी थालेका छन् ।
वर्षेनी डुबानको समस्या झेल्नु परेपछि छलेन सडक आयोजनाले कन्चनबारी उत्तरमा राखेको होमपाइप झिकेर कंक्रिट नाला निर्माण गर्नुपर्ने, राजमार्गको नाालाले वस्तीको पानीको निकास दिन नकसेकोले समानान्तर नाला निर्माण गर्नुपर्ने मागसहित विराटनगर–३ मा डुबान नियन्त्रण संघर्ष समिति नै गठन भएको छ । यसले जिल्ला प्रशासन कार्यालयमार्फत दवाव सिर्जना गरेर सडक डिभिजनका प्रमुखले हेर्दै आएको छलेन सडक आयोजनालाई होमपाइप झिकाउन आन्दोलन चर्काउने तयारी गरेको छ । यससँगै महानगरपालिकाले समस्या पहिचानमा धेरै चासो नदिएको भन्दै स्थानीय सरकार विरुद्ध प्रदर्शन गर्ने समेत तयारी गरिएको छ ।
हिउँद लागेपछि डुबानको महत्व बिर्सने र वर्षात्मा डुबानको समस्यामा परेका नागरिकलाई उद्धारको रमिता मात्रै देखाउने प्रचलनको अन्त्य हुनुपर्ने विराटनगर ३ का पदमबिनोद घिमिरेको भनाई छ । पूर्व गाविस सचिव समेत रहेका घिमिरेले नागरिकको दुःख वर्षात्मा हेरेर पनि योजना बनाउन नसक्नुले स्थानीय सरकार जिम्मेवार नभएको आरोप लगाउँछन् ।