इन्दु साह
विराटनगर । स्वच्छ सहर निर्माणको लागि दिनरात खटिने सफाई कर्मचारीहरू आफैं स्वास्थ्य जोखिममा छन्। महानगरपालिकाका १९ वटा वडामा कार्यरत तीन सय सरसफाई कर्मचारीहरूले सुरक्षा सामग्रीको प्रयोग नगर्दा उनीहरूको स्वास्थ्य जोखिममा पर्ने गरेका हुन् ।
फोहोर व्यवस्थापनका क्रममा कर्मचारीहरूले एप्रोन, मास्क, पन्जा र गमबुट जस्ता आधारभूत सुरक्षा सामग्रीको प्रयोग गरेको पाइएको छैन । सुरक्षा सामग्री लगाउँदा काम गर्न असहज हुने भएकाले प्रयोग नगरेको सरसफाई कर्मचारीहरू नै बताउँछन् ।
महानगरपालिकाका सरसफाई शाखा प्रमुख पुनम दाहालका अनुसार कर्मचारीहरूलाई पटक–पटक सुरक्षा सामग्री प्रयोग गर्न निर्देशन दिइए पनि उनीहरूले असहज हुने बताउँदै प्रयोग गर्न अस्वीकार गर्ने गरेको बताउँछन् ।
शाखाले आवश्यकता अनुसार मास्क, गमबुट र पन्जा लगायतका सामग्री नियमित रूपमा वितरण गर्ने गरेको छ। घरायसी तथा व्यवसायिक क्षेत्रबाट निस्कने कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउँदा विभिन्न प्रकारका संक्रामक रोगहरू फैलन सक्ने जोखिम हुन्छ ।
यस्तो अवस्थामा सरसफाई कर्मचारीहरूले अनिवार्य रूपमा सुरक्षा सामग्रीको प्रयोग गर्नुपर्ने देखिन्छ । फोहोर व्यवस्थापनका क्रममा फोहोरमा सिसा, फलाम जस्ता धारिलो वस्तु पनि हुन सक्छ । यस्तोमा सामान्य चप्पल लगाउदा खुट्टामा घोच्ने, काटिने जस्तो जोखिम हुन्छ ।