विराटनगर पुष्पलाल चौक–ठूलो मिल सडक : हतारमा भत्काएर, विस्तारै बनाउँदा स्थानीयलाई सास्ती

<span class='c1'>विराटनगर पुष्पलाल चौक–ठूलो मिल सडक :</span> <span class='c2'>हतारमा भत्काएर, विस्तारै बनाउँदा स्थानीयलाई सास्ती</span>

विराटनगर । विराटनगर महानगरपालिका १ र ३ नम्बर वडा अन्तर्गत पुष्पलालचौक–ठूलो मिल सडक गत असारमा हतारहतार मर्मतका लागि भत्काइयो । आर्थिक वर्षको अन्तिम महिना हतारमा भत्काइएको सडक चालु आर्थिक वर्षको कार्तिकसम्म जेनतेन निर्माणमा छ । वर्षात्को समयावधी भरी हिलोको सास्ती बेहोर्नु परेपनि दशैपछिदेखि कच्ची सडकमा सवारीका कारण उत्पन्न धुलोले स्थानीयलाई हैरानीमा पार्न थालेको छ ।

खासमा चालु आर्थिक वर्षको भदौदेखि भत्काएर पुसदेखि कालोपत्रे गर्ने योजना रहेको महानगरपालिकाको दावी छ । तर, स्थानीयले अलिअलि खाल्डाका कारण दुर्घटना भएको भन्दै तत्काल भत्काउन डेलिगेशन नै आएपछि असारमै काम सुरु गराइएको थियो । तर, अहिले स्थानीयमध्येकै केहिले भने असारमै भत्काउन लगाउनेहरु असली स्थानीयवासी नभएको भन्दै तत्काल मर्मतको काम नथाले अवरुद्ध गर्ने चेतावनी दिएका छन् । स्थानीयमध्ये अमित चौधरीले सवारीसँगै ओभरलोडेड टिपरका कारण सडकको भत्कने गरेको भएपनि महानगरपालिकाले चासो नराखेको आरोप लगाए । उनले अघिल्लो कार्यकालका मेयर भीम पराजुलीले पुष्पलालचौकदेखि टिपर हाईवे बाइपास गराउने गरेको भएपनि अहिलेका मेयर नागेश कोइरालाले टिपर खुल्ला गरेको बताए ।

रजनी कन्ट्रक्सनले निर्माण सम्झौता गरेको उक्त सडकको काम तत्काल हुनुपर्ने स्थानीयको माग छ । महानगरपालिकाका इन्जिनियर सुजन श्रेष्ठका अनुसार आगामी चैतसम्ममा एक हजार २०० मिटर सडकको कालोपत्रे सक्नुपर्ने अवधी छ । हालसम्म सडकको बेस फाइनल भएकोले अब प्राइम गर्ने जोरजाम भईरहेको छ । गत आर्थिक वर्षको असारमा सम्झौता गरिएको सडक मर्मत परियोजना पब्लिककै हतारका कारण भत्काउनु परेको इन्जिनियर श्रेष्ठको दावी छ । अब एक हप्ता भित्रै प्राइम गरेर त्यसको हप्तादिनपछि कालोपत्रे सुरु हुने दावी उनको छ ।

विराटनगरको एकिकृत ढल, नाला र सडक व्यवस्थित गर्न मझौला शहरको एकिकृत शहरी वातावरणीय परियोजना सन् २०१३ को डिसेम्बर १३ देखि सुरु भएको थियो । दोस्रो चरणमा क्षेत्रीय शहरी विकास परियोजनाको नाममा २०२१ मा पूर्वाधार विकासका योजनाहरु सम्पन्न भएका थिए । परियोजना हस्तान्तरण भएको चारवर्षमा नै सडक भने भत्किन थालेको छ ।

एडीबीको ऋण सहयोगमा ६ अर्ब ७३ करोड ५३ लाख रुपैँया खर्चेर ८६.५ किलोमिटर सडक, ८२ किलोमिटर नाला र १८ किलोमिटर ढल निर्माण भएको थियो । यद्यपी यति छोटो समयमै सडक भत्केर स्थानीय तहले मर्मत गर्नुपर्ने अवस्था सिर्जना भएपछि विराटनगरको अवस्था केहिवर्ष भित्रै धुलाम्यमा परिणत हुने निश्चित देखिएको छ । परियोजना सम्पन्न भएको चारवर्षपछि नै पुष्पलालचौकदेखि दक्षिण एकहजार २०० मिटर सडक मर्मत गर्नका लागि १ करोड ३३ लाखमा सम्झौता भएको छ । महानगरपालिकाले एक करोढ ८० लाख रुपैँयाको लागत अनुमान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्