विराटनगर । १० औं राष्ट्रिय उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, मोरङको आयोजनामा विराटनगरमा एक कार्यक्रम गरी उद्योग दिवस मनाइएको छ ।
उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि भन्ने नारासहित विराटनगरमा आईतबार विहान १० औं राष्ट्रिय उद्योग दिवस मनाइएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको सहकार्यमा आयोजित कार्यक्रम कार्यालयबाट निकालिएको प्रभातफेरि बरगाछी पुगेर समापन भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका महासचिव उत्तम श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय, मोरङले आफ्नो कार्यपत्रसमेत प्रस्तुत गरेको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले उद्यमशील संस्कृति भएमा राष्ट्र समृद्ध हुने बताउँदै शुभकामना व्यक्त गरे ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय, मोरङका प्रमुख भवानी घिमिरे, उद्योग कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि रामकुमार श्रेष्ठ र प्रमुख अतिथि अजम्बर राईल गायतले शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा घरेलु कार्यालयले ग्रामथान गाउँपालिका ४ की प्रमिला देवकोटा पौडेल र सुन्दरहैंचा नगरपालिका(१) का युवराज हुमागाईँलाई उत्कृष्ट उद्योगी घोषणा गर्दै सम्मान गरिएको थियो ।