इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले सहरको सौन्दर्य बढाउन थालेको हरियाली अभियानले मुख्य राजमार्गको स्वरुपमा परिवर्तन आएको छ । बरगाछीदेखि रानी नहरसम्मको सडक डिभाइडरमा गरिएको वृक्षारोपण र घेराबेरा निर्माणले सहरको मुख्य सडकको स्वरूप बदलिएको हो ।
प्रारम्भमा स्थानीयबासीको विरोधको सामना गर्नुपरे पनि अहिले डिभाइडरमा रोपिएका विभिन्न प्रजातिका फूल र बिरुवामा पलाएको पालुवाले मन जित्न थालेको छ । महानगरले डिभाइडरका ४६ प्लटमध्ये एउटामा सी.एन.आई.ले विरूवा रोपण गरेको छ । राजमार्गका १३ वटा प्लटमा अझै वृक्षारोपण गर्न बाँकी रहेको सरसफाई शाखा प्रमुख पूनम दाहालले जानकारी दिएका छन् ।
यस अभियानका लागि विभिन्न बैंकहरूले २२ लाख ५० हजार रूपैयाँको आर्थिक सहयोग गरेका छन् । महानगरपालिकाले थप तीन डिभाइडरमा तत्काल वृक्षारोपण गर्ने तयारी गरिरहेको छ । बरगाछी देखि रानीसम्मको क्षेत्रमा रोपिएका विरूवाहरू राम्ररी हुर्किएका छन् र सडकको मध्य भागमा हरियाली दृश्यले यात्रुहरूलाई थप आकर्षण गर्न थालेको दावी छ ।
अहिलेसम्म जम्मा २९ लाख रुपैँया लागत लागेको उपभोक्ता समिति अध्यक्षय बेनिगोपाल मुन्दडाले जानकारी दिएका छन् । महानगरपालिकाले उक्त विरुवाको रेखदेखमा सफाईकर्मी समेत खटाएका छन् । स्थानीयवासीहरूले पनि अब यस पहललाई सकारात्मक रूपमा लिएका छन् र यसको संरक्षणमा सहयोग गर्न थालेका छन् । महानगरपालिकाका अनुसार पहिले विरोध गरिरहेकाहरुले आफैं सहयोग गरेर बिरुवा हुर्काउन लागेका छन् । सडकको मध्यभागमा रोपिएका केहि विरुवा फूल फुल्ने प्रजातिका छन् भने केहि हरीयो शोभा दिने प्रजातिका छन् ।
महानगरपालिकाका अधिकारीहरूका अनुसार बाँकी रहेका डिभाइडरहरूमा पनि क्रमशः वृक्षारोपण गरी सम्पूणर् सडक खण्डलाई हरियाली युक्त बनाइने योजना रहेको छ । पछिल्लो समय रोपिएका बिरुवाको संरक्षणमा आगामी फागुन, चैत, बैशाख र जेठ महिनामा नियमित पानी लगाउन सके बिरुवा हुर्कने समय परिपक्क हुनेछ । त्यसले बिरुवालाई हुर्कन र बढ्न सहयोग पुग्नेछ । वर्षेनी लाखौं खर्चेर रोपिएका बिरुवा नसर्ने गरेपनि यस पटक महानगरपालिकाले रोपेका बिरुवा सर्लक्क सरेका छन् । अब यी बिरुवाको संरक्षणमा महानगरपालिकाको विशेष ध्यान दिईरहनुपर्ने आवश्यकता रहेको छ ।