विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले लागूपदार्थ सेवन गरेर सवारी साधन कुदाउने १० जना चालकलाई नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले विराटनगर १६ स्थित हुलास चौकमा सवारी साधन चेकजाँचको क्रममा १० जना लापसे सेवन कर्ता चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको होे ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राजन लम्सालले शनिबार सीमान्त क्षेत्रमा १५ वटा सवारी साधनको चेक जाँच गरिएकोमा १० जना चालकले लापसे सेवन गरेको पुष्टि भएको जानकारी दिए । जसमध्ये ५ जना सिटी सफारीका चालक र ५ जना मोटरसाइकल चालक रहेको प्रमुख लम्सालले बताए ।
अन्य लागूपदार्थ सेवन गरेर सवारी साधन कुदाएको खण्डमा दफा १६० को उपदफा १४२ बमोजिम १ हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । ट्राफिक सचेतना अन्तर्गत प्रहरीले अहिले जोगबनीबाट आउने सवारी चालकहरुको लापसे चेकजाँच गर्दै आएको छ ।