विराटनगर ।काठमाडौंमा आयोजना हुने राष्ट्रियस्तरको कोडफेस्ट (Codefest) २०२४/ह्याकाथन (Hackathon) प्रतिस्पर्धामा कोशी प्रदेशबाट नेपाल विजनेश कलेज, विराटनगर छनौट भएको छ। देशभरिबाट ९ टोलीको सहभागिता रहने प्रतियोगितामा ७ प्रदेशका ७ टोली र काठमाडौंका २ टोली सहभागी हुनेछन्।
आइडियाथन (Ideathon) प्रतियोगितामा नवीन सोच र नवप्रवर्तनलाई छनौटको आधार बनाइएको थियो। कोशी प्रदेशका लागि इटहरीमा आयोजित आइडियाथन प्रतियोगितामा ६ टोलीले सहभागिता जनाएका थिए। त्यसमध्ये नेपाल बिजनेश कलेजको टोली मात्र छनौट भयो। कोडफेस्ट २०२४ लाई नेपालको सबैभन्दा ठूलो ह्याकाथनको रूपमा लिइएको छ। यसको मुख्य उद्देश्य आईटी (IT) विद्यार्थीहरूलाई आफूले सिकेका नवीनतम प्रविधिको व्यावहारिक उपयोगिता प्रदर्शन र अनुभव प्राप्त गर्ने अवसर प्रदान गर्नु रहेको छ।
मंसिर २८, २९ र ३० गते काठमाडौंमा हुने प्रतियोगितामा नेपाल बिजनेश कलेज, विराटनगरबाट बीआईटी (BIT) मा अध्ययनरत जितेन मण्डल, अवुजर खान, रुजल बानिया र मोहम्मद ओसामा सहभागी हुनेछन्।