विराटनगर । सडक दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनका लागि विराटनगरको विभिन्न स्थानमा जडान गरिएको 'लेन सेपरेटर' भाँचियोको अवस्थामा भेटिएको छ।
विराटनगर महानगरपालिकाले रातिको समयमा समेत देखिने खाले 'लेन सेपरेटर' जडान गरे पनि रोडशेष चौकमा रहेको 'लेन सेपरेटर' भारतीय लहरी गाडीले भाचिदिएको अवस्थामा भेटिएको हो।
हालसम्म रोडशेष, जलजला चौक र तिनपैनी चौकमा यी लेन सेपरेटरहरू जडान गरिएको विराटनगर महानगरका नगर प्रहरी प्रमुख राजन पौडेलले जानकारी दिए। आगामी दिनमा मुख्य सडकबाट भित्री सडकतर्फ जाने बाटोहरूमा समेत यस्तै संरचना राख्ने योजना रहेको उनले बताए । सडकमा नट प्रयोग गरी बलियोसँग जडान गरिएका यी लेन सेपरेटरहरुले सवारी साधनलाई ट्राफिक नियम पालना गर्न सहज हुने र दुर्घटना कम गर्न सहयोग पुर्याउने विराटनगर महानगरपालिकाले जनाएको छ।
सवारीसाधन र सर्वसाधारणबाट यी संरचनाको सुरक्षा र संरक्षण गर्नु चुनौतीपूर्ण रहेको नहर प्रहरी प्रमुख पौडेल बताउछन्। विराटनगर महानगरपालिकाको यो पहल सडक सुरक्षा र यातायात व्यवस्थापन सुधार गर्ने दिशामा एक सकारात्मक कदम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालले बताए।
तस्बिर : प्रेम देवान/आवर विराटनगर