इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा सडक मर्मतमा हुने ढिलाई सधैंको रोग हो । सडक मर्मतको काम सयमै गर्ने योजना सधैं नै अभाव हुँदै आएको छ । महानगरपालिकामा सवारी आवागमन सहज बनाउन ट्राफिक लाइट जडान गरिएको छ । ट्राफिक लाइट जडान गरिएको तीनपैनी चौकमा भने संकेत मानेर सवारी बढाउने की खाल्डो हेरेर भन्ने धेरै चालकमा भ्रम देखिन्छ ।
ट्राफिक लाइटको संकेत हेरेर बढ्ने की सडकको खाल्डो हेरेर बढ्ने भन्ने दोधार हुनु दुर्घटनाको संभावित जोखिम निम्तनु पनि हो । तर, महानगरपालिकाले ट्राफिक लाइट जडान गर्दा सडकको खाल्डो भने नदेखेको नगरवासीको गुनासो छ । तीनपैनीको खाल्डो नदेखेपनि महानगरपालिका उत्तरबाट शनिहाट जोडने सडकमा खाल्डो छ ।
सडक दबेर परेको खाल्डो महानगरपालिका नजिकै छ । जहाँबाट दैनिक महानगरपालिका प्रशासनको ओहोरदोहोर समेत हुन्छ । महानगरपालिकाले पार्किङका लागि मार्क गरेको दुरी सकिए लगतै पूर्वतर्फको प्रवेशद्वारतर्फ मोडिन्छ । त्यहि मोडिने अगाडी सडकमा खाल्डो नपुरेको भन्दै आलोचना हुने गरेको हो ।
स्थानीय बासिन्दाहरूका अनुसार महानगरले पिच गरेको केही वर्षमै सडक दविएर ठूलो खाडल बनेको छ । अझ महानगरपालिकाका कर्मचारीहरू नै यही सडक छेउमा सवारी पार्किङ गर्ने गर्छन् ।