विराटनगर । विराटनगर–९ स्थित सरस्वती स्कुलका पूर्व विद्यार्थीहरुले विद्यालयमा डिजिटल कक्षा निर्माण गरेर हस्तान्तरण गरेका छन् । अल्मनाई एशोसिएशनले आफूले अध्ययन गरेको विद्यालयलमा योगदान गरेका हुन् ।
आफैं अध्ययन गरेको विद्यालयलाई कसरी सुधार्ने भन्ने मनन् गरेर चार लाख ३० हजार रुपैयाँ लागतमा डिजिटल बोर्ड र विद्यालयका लागि केहि बेन्चहरु शुक्रबार एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरेका हुन् । पूर्व विद्यार्थीले गरेको योगदानलाई सार्थक बनाउन विराटनगर महानगरपालिकाले इन्भर्टर र ब्याट्री सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेको एशोसिएशनका उपाध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिएका छन् ।
विद्यालयका प्राचार्य अनिता नेपालले पूर्व विद्यार्थीको योगदानबाटै पछिल्लो समय शैक्षिकस्तरमा सुधार आएको बताइन् । उनले २०६८ सालयता विद्यालय सञ्चालनमा अल्मनाई एशोसिएशनको विशेष योगदान रहेको भन्दै प्रशंसा गरेकी छिन् ।
विद्यालयका पूर्व प्राचार्य डिल्ली पोखरेलले आफूले नेतृत्व गरेको विद्यालयमा पूर्व विद्यार्थीले योगदान गर्दा अपनत्व अझै बढ्ने बताएका छन् । उनले यसरी प्राप्त सहयोगको सदुपयोगमा अहिलेका शिक्षक, कर्मचारी र विद्यार्थीले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन् । अल्मनाई एशोसिएशनका अध्यक्ष माधवराज वाग्लेले आफैं पढेको विद्यालयको सम्झना सधैं आईरहने बताएका छन् । उनले विद्यालयलाई केहि न केहि योगदान गर्दा मात्रै आफ्नो अध्ययनले सार्थकता पाउने बताएका छन् ।