इन्दु साह
विराटनगर । विराटनगरमा रहेको जिल्ला प्रशासन कार्यालय मोरङको बाहिरी परिसर सधैं फोहोर हुने गरेको छ । भित्री परिसरमा शौचालयको दुर्घन्ध फैलने कार्यालयमा सरसफाईमा गम्भीर लापरबाही हुने गरेको छ ।
कार्यालय परिसरमा गुटखाका खोल, चियाको डिसपोजल कप र अन्य फोहोरहरू थुपारीएका छन् । जसले सेवाग्राहीहरूलाई असुविधा र अस्वास्थ्यकर वातावरणमा सेवा लिन बाध्य पारिरहेको छ। कार्य विशेषले कार्यालय आएका नागरीकहरु यस्तो कार्यालयको दयनीय अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।
सार्वजनिक स्थलमा धूम्रपान र तम्बाकुजन्य पदार्थ सेवन गर्न रोक लगाइएको भए तापनि कार्यालय परिसरमा यसको खुला उल्लघंन भईरहेको छ। विराटनगरमा मच्छरको बाहुल्यता र कार्यालयको अस्वच्छ वातावरणले सर्ने रोगहरूको जोखिम थप बढाएको छ। सेवाग्राहीहरूले कार्यालयको सरसफाईमा ध्यान दिन आवश्यक रहेको बताएका छन् । यस्तो अवस्थामा नागरिक सेवा प्रवाहमा स्वच्छ र स्वस्थ वातावरण हुनुपर्ने अधिकार हनन् हुन्छ ।
सरकारी कार्यालयहरूमा सरसफाई र स्वच्छताको महत्व हुनुपर्नेमा थप लापरबाही हुने गरेको छ । केहि समय पहिले शौचालयको दुर्गन्धले सेवाग्राहि आक्रोसित भएका थिए । साथै अहिलेको अवस्था हेर्ने हो भने प्रसासन कार्यालय सरसर्फामा कमजोरी भएको देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय मोरङका सुचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साहका अनुसार कार्यालयको परीसर सरसफाईकै लागि भनेर कर्मचारी नियुक्त नभएकोले यस्तो अवस्था आएको हो ।
उनले भने कार्यालय सहयोगीहरुले नै शौचालय सरसफाईदेखि कार्यालय परीसर सरसफाई गर्ने गरेका छन् । साथै जिल्ला प्रशासन कार्यालयको सरसफाईमा जोड दिईने उनले दावी गरेका छन् । महागरपालिकाले विराटनगरका वासिन्दहरुलाई सरसफाई सदस्यता कार्ड लिन अनिवार्य गराउँदा समेत जिल्ला प्रशासन कार्यालय नै सदस्यता कार्ड लिन आनाकानी गर्दै आएको छ ।