विराटनगर । विराटनगरको शिक्षादीप कलेजले विद्यार्थीहरुलाई जीव विज्ञान सम्बन्धी स्थलगत अध्ययन तथा अवलोकन भ्रमण गर्न लगेको छ ।मोरङको लेटाङस्थित चिसाङ खोलामा कक्षा ११ मा जीव विज्ञान विषय लिएर अध्ययनरत छ सय जना विद्यार्थीहरुका लागि एक दिवसीय स्थलगत अध्ययन/अवलोकन भ्रमण गराएको हो ।विद्यार्थीहरुले लेटाङ नगरपालिकामा रहेको चिसाङ र मुर्चुङ्गी खोला क्षेत्रमा रहेका जैविक विविधता तथा वातावरणीय अवस्थाको अध्ययन गरेका छन् । त्यहाँको प्रकृतिमा उपलब्ध वनस्पतिहरुका नमुना समेत सङ्कलन गरी ल्याएका छन् । उनीहरुले हर्वेरियम तयार गरी राख्नेछन् । विद्यार्थीले शिक्षकहरुको सहजीकरणमा मुर्चङ्गी नदी र आसपासमा पाइएका जंगली जनावरहरुको विवरण पनि अध्ययन गरेका छन् । चुरे क्षेत्रमा भएको भूक्षय, बाढीको वितण्डालगायत त्यहाँको वातावरणमा प्रभाव पार्ने तत्वहरुको जानकारी लिएका छन् ।
स्थलगत अध्ययन, अवलोकनको प्रतिवेदन पनि विद्यार्थीले त्यहाँ प्रस्तुत गरेका थिए । विद्यार्थी सिरिन भट्टराई, ज्योति यादव, निशान्त खड्का, नेन्सी साह, प्रगति अधिकारी र नितेश सिंहले प्रतिवेदन प्रस्तुत गर्दै चिसाङ नदी आसपासमा पाइने जैविक विविधता र प्राकृतिक स्वरुपको बारेमा बताएका थिए । प्रस्तुतिकरणको कार्यक्रम वनस्पति विज्ञानका शिक्षक डा.ललितनारायण मण्डलले सहजीकरण गरेका थिए।
पाठ्यक्रममा उल्लेख गरेअनुसार कलेजले विद्यार्थीहरुलाई स्थलगत भ्रमणमा लगिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । यो शैक्षिक भ्रमण पढाइ सिकाइ मात्र नभएर मनोरञ्जनका साथै विद्यार्थी र शिक्षकहरुको सामिप्यता बढाउने माध्यम तथा विद्यार्थीमा रहेको प्रतिभा प्रर्दशनीको थलो रहेको खड्काले बताए । प्राकृृतिक विज्ञानका कुराहरुलाई कक्षाकोठाभित्र सिकाएर पूर्ण नहुने तर यस किसिमका स्थलगत अध्ययन भ्रमणबाट विद्यार्थीले प्रकृति र प्राकृतिक विज्ञान राम्ररी बुझ्ने जीव विज्ञानका शिक्षक रामचन्द्र अधिकारीले जानकारी दिए । विज्ञानलाई व्यवहारिक रुपमा कसरी प्रयोग भएको हुन्छ भन्ने विषयमा पनि विद्यार्थीहरुलाईको निम्ती यसको खालको अध्ययन तथा अवलोकन आश्वयक रहेको अधिकारीले बताए ।
स्थलगत सिकाइलाई थप प्रभावकारी बनाउन शिक्षादीप कलेजले हरेक वर्ष नयाँ आयमहरु थप्दै थप प्रभाकारी बनाउँदै लगिने प्रिन्सिपल खड्काले बताए।