झापा । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत जिल्लाका चार पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्र धमाधम निर्माण भइरहेको छ ।
अर्जुनधारा, बिर्तामोड, बुद्धशान्ति र कनकाईको साझेदारीमा अर्जुनधारा नगरपालिका–१ मा निर्माणाधीन उक्त परियोजनाको कुल लागत रु पाँच करोड २० लाख रहेको छ ।
स्वीस सरकार र कोशी प्रदेश सरकारले परियोजनालाई सहयोग गरेका छन् । उक्त एकीकृत विपद् व्यवस्थापन केन्द्रमा प्रहरीको युनिटसहित चारवटा दमकल, एउटा शववाहन, प्रहरी वाहन र तीनवटा साना वाहन रहने अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले बताउनुभयो । वाहन मर्मत गर्ने ग्यारेज, पानी जम्मा गर्ने रिजर्भियर, विपद् सामग्री भण्डारण गर्ने गोदाम, प्रहरी, कामदार र कर्मचारी बस्ने आवास, हेलिप्याड, प्रशासनिक भवनलगायत पूर्वाधार निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।
परियोजनामा प्रदेश सरकारको ५० प्रतिशत, स्वीट्जरल्याण्ड सरकारको २० प्रतिशत, बुद्धशान्ति गाउँपालिकाको छ प्रतिशत र अन्य तीनवटा नगरपालिकाको २४ प्रतिशत लगानी रहने बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा प्रसाइले बताउनुभयो ।
उक्त परियोजनाको सोमबार साझेदार चारवटै पालिकाका जनप्रतिनिधिले अनुमगन गरेका छन् । सञ्चालन कार्यविधिअनुसार परियोजनाको सञ्चालन र रेखदेख चारवटै स्थानीय तहले मिलेर गर्ने र उपयोग भने त्यसभन्दा बाहिरका पालिकाले पनि गर्न सक्नेछन् ।
विसं २०८० मङ्सिरमा सुरु गरिएको उक्त परियोजना दुई वर्षभित्र निर्माण भइसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ । हाल परियोजनाको भौतिक प्रगति ५० प्रतिशत र आर्थिक प्रगति ४० प्रतिशत रहेको परियोजनामा कार्यरत इञ्जिनियर नीता नेपालले बताउनुभयो ।
जिल्लाको केन्द्रीय भूभाग पारेर अर्जुनधारामा निर्माण गरिने विपद् व्यवस्थापन केन्द्रबाट जिल्लाको १५ वटै पालिका र छिमेकी इलाम र मोरङ जिल्लावासी पनि लाभान्वित हुने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल बताउनुहुन्छ ।
केन्द्रमा विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने दमकल, एम्बुलेन्स, डुङ्गा, शववाहन र अन्य उपकरणसहित चौबीसै घण्टा प्रहरी जनशक्ति तैनाथ रहने भएकाले कुनै पनि विपद्का बेला यसबाट उद्धार कार्यलाई छिटो र व्यवस्थित रूपमा अघि बढाउन सकिने उहाँले जानकारी दिनुभयो ।
अन्तरपालिका साझेदारीमा परियोजना सञ्चालन भएकाले यसलाई कोशी प्रदेशको नमूना विकास परियोजनाका रूपमा हेरिएको छ । पालिका एक्लाएक्लैले लगानी गर्न असम्भव हुने र साझा सवालमा मिलेर लगानी गर्ने अवधारणाअनुरुप जिल्लाका चारवटा पालिकाको साझेदारीमा एकीकृत विपद् व्यवस्थापन केन्द्रको निर्माण भइरहेको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेब गोम्देन बताउनुभयो ।