विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक शिक्षालय मनमोहन पोलिटेक्निकका विद्यार्थीहरुले सवारीमा चालकले पीएको रक्सीको संकेत गर्ने उपकरण निर्माण गरेका छन् । चालकले रक्सी पीएको संकेत स्वतः यात्रुको जानकारीका लागि गर्ने उपकरण निर्माण गरेका हुन् ।
पोलिटेक्निकको डिप्लोमा मेकानिकलतर्फका तेस्रो ब्याच विद्यार्थीले छ महिना लगाएर सवाारीमा जडान गर्न मिल्ने उपकरण बनाएका हुन् । सवारीमा जडान गरेपछि चालकले कति प्रतिशत अल्कोहल पीएको छ र उसले अब सवारी चलाउन सक्छ की सक्दैन भन्ने कुरा पत्ता लगाउन उपकरणले सक्ने दावी छ ।
विद्यार्थीहरुका अनुसार अल्कोहल संकेत उपकरणलाई स्तरोन्नती गरेर कार, बाइक, बस, ट्रक जुनसुकै सवारीको ईन्जिनमा जडान गर्न सकिन्छ । यदी चालकले ४० प्रतिशत भन्दा बढी रक्सी सेवन गरेको रहेछ भने उक्त्त उपकरणले तत्काल संकेत दिने दावी छ । ‘तिमिले धेरै रक्सी खाएका छौ यसैले सवारी चलाउन योग्य छैनौ’ भन्ने सन्देश दिने इन्जिनयिर तथा शिक्षक दिपेन्द्र यादवले जानकारी दिए । यो उपकरणले दुर्घटना न्युनीकरण गर्न सहयोग पुरयाउने पोलिटेक्निकका ईन्जिनियर यादवले बताउँछन् । उनका अनुसार चालु शैक्षिक सत्र मेकानिकल ईन्जिनियरिंङग तेस्रो बर्षका विद्यार्थीहरुले विभिन्न पाँचवटा अविष्कारहरु गरेका छन ।
यसैगरी मनमोहन पोलिटेक्निककै ईन्जिनियरिङ तर्फका विद्यार्थीहरुले गियरवाला विद्युतीय मोटरसाइकल पनि निर्माण गरेका छन । विद्यार्थीहरुका अनुसार हाल बजारमा सञ्चालन भैरहेका ईलेक्ट्रिक मोटरसाइकलहरुमा गियरको प्रबन्ध छैन । यो प्रविधिलाई स्तरोन्नती गरेर बजारमा गियरवाला मोटरसाइकल सञ्चालन गर्न सकिने शिक्षक तथा ईन्जिनियर रामकुमार यादवले जानकारी दिए । ईन्जिनियर यादवका अनुसार चालु बर्ष ईन्जिनियरिंगतर्फका विद्यार्थीले ५ वटा र ईलेक्ट्रिक ईन्जिनियरिंङगतर्फका विद्यार्थीले विभिन्न ३ वटा अविष्कारहरु प्रर्दशन गरेका छन । विद्यार्थीहरुले सोमवार पोलिटेक्निक परिसरमा बेट्रीबाट चल्ने ह्रिव्यल चेयर, हाईड्रो पावर, ट्रान्सफरमर ईलेक्ट्रिक कन्ट्रोलर र स्वचालित कार, अल्कोहल टेष्ट डिभाइस, गियरवाला ईलेक्ट्रिक मोटरसाइकल जस्ता आविष्कारहरु प्रर्दशन गरेका हुन् ।
विद्यार्थीहरुले गरेको अविष्कारको प्रर्दशन मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेल रजिष्टार डा. दिलनाथ फुयाँल, उद्योगी सोम घिमिरे, समाजिक विकास मन्त्रालयका उपसचिव फणिन्द्र खत्री लगायतले अवलोकन गरेका थिए ।