विराटनगर । विराटनगर निवासी विमल पोखरेल राष्ट्रिय स्तरको 'स्पोर्टस साइन्स' तालिममा कोशी प्रदेशको प्रतिनिधिको रूपमा छनोट भएका छन्। काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको तालिम तथा प्रशिक्षण विभागले आयोजना गरेको यो विशेष तालिम मंसिर २३ गतेदेखि पुष ३ गतेसम्म सञ्चालन हुनेछ।
प्रशिक्षकहरूको क्षमता अभिवृद्धि र कौशल विकासका लागि आयोजना गरिएको यस उच्चस्तरीय तालिममा देशभरका सातै प्रदेशबाट एक-एक जना प्रशिक्षकसहित अन्य विज्ञ प्रशिक्षकहरूको सहभागिता रहनेछ।
लामो समयदेखि कराते खेलको प्रशिक्षण दिँदै आएका पोखरेल हाल प्रदेश खेलकुद विकास बोर्डका उपनिर्देशकको जिम्मेवारीमा कार्यरत छन्। उनले कजाकिस्तानको अल्माटी, सिङ्गापुर, मलेसिया र बङ्गलादेशमा विभिन्न खेल प्रशिक्षण कोर्सहरू पूरा गरेका छन्।
विशेष उल्लेखनीय कुरा के छ भने पोखरेलले सन् २००० को जनवरीमा भारतको देहरादुनमा आयोजित साउथ एसियन कराते च्याम्पियनसिपमा नेपाललाई ऐतिहासिक पहिलो स्वर्ण पदक दिलाएका थिए। त्यसैगरी चौथो राष्ट्रिय बृहत खेलकुद प्रतियोगितामा तत्कालीन पूर्वाञ्चल क्षेत्रलाई स्वर्ण पदक जिताउन सफल भएका थिए। वि.सं. २०५० सालमा आयोजित पहिलो अन्तर्राष्ट्रिय बी.पी. मेमोरियल गेममा पनि स्वर्ण पदक हात पारेका पोखरेलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्दै उल्लेखनीय सफलता हासिल गरेका छन्।
उनको यो लामो र सफल खेल जीवनले नेपाली कराते खेलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। विशेषगरी युवा खेलाडीहरूका लागि उनी एक प्रेरणादायी व्यक्तित्वको रूपमा चिनिन्छन्। अब उनको यस नवीनतम तालिम सहभागिताले प्रदेश स्तरमा खेलकुदको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।