इन्दु साह
विराटनगर । विराटनगरमा जापान सरकारको अनुदानमा व्यापक खानेपानी सुधार आयोजना सुरु भएको छ।
जाइकाको सहयोगमा सिमिजु कर्पोरेशनद्वारा कार्यान्वयन हुने यो परियोजनाले शहरको पुरानो र जीर्ण खानेपानी वितरण प्रणालीलाई पुनःनिर्माण गर्न लागिएको हो ।
विराटनगरमा खानेपानी सुधार आयोजनाको काम बढेसँगै सडक भने पुनः भत्काउन थालिएको छ ।
विभिन्न स्थानमा सडकको छेउ खन्ने कार्य भईरहेको छ । स्थानीय नागरिकले यसरी पीच सडक खनिरहँदा आश्चर्य मानिरहेका छन् । तर, यो खानेपानीको पाईप विस्तारका लागि आवश्यक पर्ने स्थानमा सडक खन्ने कार्य भएको नेपाल खानेपानी संस्थानका प्राविधिक विरेन्द्र यादवको भनाई छ । उनले भने जसरी सडक खन्ने कार्य भईरहेको छ पाईप विस्तार पश्चात सोहि कम्पनीले अनुदानकै रकममा सडक मर्मत समेत गरिरहेको छ ।
यसमा स्थानीय सरकार तथा अन्य कुनै निकायको बजेट खर्च नहुने उनले बताए । खानेपानीको विस्तार गर्नुपर्ने जरुरी वडालाई प्राथमिक्तामा राखी पाईप विस्तार कार्य भईरहेको खानेपानी संस्थानका प्रमुख सन्तोष रौनियारको भनाई छ । विराटनगरमा खराब खानेपानी वितरण प्रणालीका कारण स्थानीय बासिन्दाहरू हेपाटाइटिससहित विभिन्न गम्भीर स्वास्थ्य समस्याहरू विगतमा झेल्न बाध्य भएका थिए।
पुरानो र जीर्ण पाइप प्रणाली, फोहोर पानीको अनियन्त्रित मिश्रण र ढल निकासीसँग पानीको पाइप जोडिएका कारण स्वास्थ्य जोखिम अत्यधिक बढेको थियो। यस महत्वाकांक्षी परियोजनाले शहरका विभिन्न क्षेत्रमा कुल ६८ किलोमिटर सडक क्षेत्रमा नयाँ खानेपानी पाइप विस्तार गर्नेछ। विराटनगरका विभिन्न वडाहरूमा नयाँ पानी संरचनाहरू, पानी ट्याङ्की, पानीका कुवा र आधुनिक फिल्टर प्लान्ट स्थापना गरिनेछ ।
परियोजनाको कुल लागत २ अर्ब ५४ करोड जापानी यानमा यो योजना निर्माण सम्मपन्न हुने छ । यो आयोजनाले एक लाख नगरवासीलाई सुरक्षित र गुणस्तरीय खानेपानीको पहुँच प्रदान गर्ने लक्ष्य राखेको छ । २०२६ सम्ममा परियोजना पूरा गर्ने योजना रहेको छ। विराटनगर महानगरपालिका, नेपाल खानेपानी संस्थान र जापानी निर्माण कम्पनी सिमिजु कर्पोरेशनबीच संयुक्त प्रयासमा यो आयोजना अघि बढाइएको छ। सडक खन्दा प्रत्येक स्थानमा ५५ सेन्टिमिटर चौडाई र १२५ सेन्टिमिटर गहिराइसम्म खनिने छ। साथै सडक खन्नेकार्य सुरक्षीत तवरले हुदै छ।