विराटनगर । अर्किड फेमिली सलोन र द ब्युटी वर्ल्डबीच तीन वर्षे सहकार्य सम्झौता भएको छ । विराटनगर-७ स्थित सलोनमा आयोजित कार्यक्रममा अर्किड फेमिली सलोन एकेडेमीकी संचालिका रक्तिम जोशी प्याकुरेल र द ब्युटी वर्ल्डका वत्सल भट्टराईले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतासँगै दुवै संस्थाले महिला सौन्दर्यको क्षेत्रमा केन्द्रित भएर नयाँ परियोजनाहरू संचालन गर्ने योजना बनाएका छन् । एकेडेमीले ब्युटीसियन कोर्स, नेल एण्ड केयर, मेकअप टेक्निक र फेसियल, थ्रेडिंग, वाक्सिंग, ब्लिचिंग,ब्राइडल, पार्टी, प्रोफेसनल मेकअप,स्किन केयर, ब्युटीसियन सम्बन्धि नयाँ नयाँ कोर्सहरु सुलभ मूल्यमा प्रदान गर्दै आएको छ । एकेडेमीको प्रमाणपत्रले स्वदेश तथा विदेशमा रोजगारीको अवसर सुनिश्चित गर्न सहयोग पुग्ने जनाइएको छ । विदेशमा मात्रै नभएर नेपालमै बसेर केही गर्छु भन्नेहरुका लागि समेत एकेडेमीले सहयोग गर्दै आएको छ। नेपालमा बसेर आफ्नै व्यवसाय कसरी सुरु गर्ने,आफ्नै प्रोडक्टहरू कसरी उत्पादन गर्ने,तालिमहरुको आयोजना कसरी गर्ने,डिजीटल माध्यमबाट विभिन्न भिडियो बनाएर कसरी आम्दानी गर्न सकिने र आफैँले सिकेको सिपबाट सफल उद्यमी कसरी बन्न सकिन्छ भनेर समेत तालिमहरु दिँदै आएको संचालिका जोशीले जानकारी दिइन् ।
उक्त कार्यक्रममा तालिम लिएका ३५ जनालाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो। अर्किड फेमिली सलोन एकेडेमीले विभिन्न किसिमका तालिम, सामाजिक कार्यहरु समेत गर्दै आएको छ।
गत वर्ष अर्किड फेमिली सलोनले स्वदेशी कच्चा पदार्थ र स्किन फ्यामिलियर केमिकल प्रयोग गरी १२ वटा स्किन केयर प्रोडक्टहरू बजारमा ल्याएको थियो । कोकोनट आयल, लिप बाम, बडी स्क्रब, फेस स्क्रब, फेस सिरम र नाइट क्रिम लगायतका उत्पादनको बिक्रीबाट प्राप्त १ प्रतिशत नाफा एबीसी नेपाललाई सहयोग स्वरूप प्रदान गरिने संचालिका जोशीले बताइन् ।