विराटनगर । बिरामीलाई म्याद गुज्रिएको औषधी दिएको भन्दै औषधी व्यवस्था विभागले विराटनगरको नोबेल अस्पतालको गेट अगाडि रहेको सिता राम फार्मेसीबाट औषधी नियन्त्रणमा लिएको छ ।
औषधी पसलले बिक्री गरेको औषधी बिरामीले प्रयोग गरेपछि एक बालिका बिरामी भएपछि औषधी व्यवस्था विभागले सोमबार पसलमा अनुगमन गरेपछि युसेटामोल नामक औषधी नियन्त्रणमा लिएको हो ।
झापा गौरीगञ्ज नगरपालिका–४ की ५ वर्षीया आर्या खत्री नोबेल अस्पताल विराटनगरमा उपचारको लागि आर्याका आमा बुबाले ल्याएका थिए ।
अस्पतालमा छोरीको मुखको अपरेशन पश्चात हस्पिटल बाहिर रहेको सिता फार्मेसीबाट युसेटामोल खरिद गरेको औषधी आर्यालाई प्रयोग गरिएको थियो । उक्त औषधी प्रयोग गरेको केही समयमा छोरी आर्यालाई झन साह्रो भएको उनीकी आमाले बताईन् । छोरीलाई झन साह्रो भएपछि नर्सलाई आमाबुबाले गुहारेका थिए । यता नर्सले उक्त औषधी हेर्दा म्याद गुज्रिएसँगै उत्पादन मिति नै नदेखिने खालको भेटिएको थियो ।
खत्री परिवारले फार्मेसीबाट खरिद गरिएको औषधी म्याद सकिएको भन्दै औषधी व्यवस्था विभागमा उजुरी गरेसँगै औषधी व्यवस्था विभागका फार्मेसी सुपरभाईजर एलन खड्काको नेतृत्वमा आएको टोलीले औषधी फार्मेसीमा अनुगमन गरेको थियो । बेलै औषधी हेरेका कारण पाँच वर्षीय छोरी आर्या खत्रीलाई ठुलो घटना हुनबाट जोगाईयो आर्याका बुबा लक्षण खत्रीले भने, जे हुनु भईहाल्यो । आगामी दिनमा यस्ता खालको गल्ती कुनै पनि औषधी पसलले नगरोस खत्रीले सबै फार्मेसीहरुलाई सुझाव दिए ।
यता औषधी व्यवस्था विभागका फार्मेसी सुपरभाइजर एलन खड्काका अनुसार बिरामीका आफन्तले लिखित उजुरी दिएसँगै हामीले औषधी पसलको अनुगमन गरेका छौँ । अनुगमन पश्चात केही औषधी समेत बरामद गरेको खड्काले बताए । हामीले उत्पादन मिति स्पष्ट नदेखिने खालका केही औषधी नियन्त्रणमा लिएका छौँ,‘यस बारे थप अनुसन्धान हुन्छ । यदि कैफियत भेटिए कारबाही हुने खड्काले जानकारी दिए ।
सिता राम फार्मेसीले भने हालसम्म आरोप पुष्टि नभएकाले कुनै प्रतिक्रिया दिन नसक्ने जनाएको छ । फार्मेसीका प्रतिनिधिले औषधि व्यवस्था विभागले गरेको अनुसन्धानपछि निस्कने निष्कर्षलाई स्विकार्ने बताएको छ ।