विराटनगर । तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण नागरिक उड्डयन क्षेत्र प्रभावित भएको छ ।
विराटनगर विमानस्थलबाट आज(बुधबार) पनि उडान अवतरण प्रभावित बनेको हो ।
प्रतिकूल मौसमका कारण बिहानैदेखि जहाज उडान र अवतरण हुन नसकेको हो । विराटनगर विमानस्थलका प्रमुख सुवास झा अनुसार मंगलबार बिहानदेखि लागेको हुस्सुका कारण भिजिविलिटि कम भएकोले विमान उडान अवतरण नभएको हो।
बेलुकीसम्म भिजिविलिटि क्लियर भए सबै प्रभावित भएका विमान उडान हुने प्रमुख झाले बताएका छन् । आज कुनै पनि उडानहरु भएका छैनन्। बाक्लो कुहिरो लाग्ने गरेकाले भिजिविलिटी कमजोर रहेको जनाइएको छ ।
बिमानस्थलका प्रमुख झाका अनुसार बुद्ध एयर, यति एयर र श्री एयरलाइन्स कुनै विमानले पनि उडान भरेको छैन । उडान र अवतरणका लागि १ हजार ६ सय मिटर भिजिबिलिटी र २ हजार मिटर सिलिङ चाहिने हुन्छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने आन्तरिक र बाह्य उडान नियमित रुपमा सञ्चालन भईरहेका छन् ।