इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले रोजगारदाता र रोजगार खोजिरहेका युवाहरूबीच सेतु बन्ने उद्देश्यले दोस्रो 'महानगर रोजगार मेला' आयोजना गर्न लागेको छ। पुष १ र २ गते विराटनगरस्थित वीरेन्द्रसभा दक्षिणको इको पार्कमा हुने यो मेलामा महानगरले ५ लाख बजेट छुट्याएको छ।
गत आर्थिक वर्ष २०८०/८१ मा स्टेपअपसँगको सहकार्यमा ७ लाख लगानीमा पहिलो रोजगार मेला आयोजना गरिएको थियो। उक्त मेलामा ४,१०० जनाले आवेदन दिएकोमा १९६ जनालाई मात्र रोजगारीका लागि सिफारिस गरिएको थियो। तर ती सिफारिस गरिएका व्यक्तिहरूमध्ये कति जनाले वास्तविक रोजगारी पाए भन्ने कुनै तथ्यांक महानगरपालिकासँग छैन।
महानगरका रोजगार सेवा केन्द्रका प्राविधिक कपिल थापाका अनुसार विराटनगरमा प्रशासनिक र ज्यालादारी कामदार नपाइने अवस्था छ। रोजगार केन्द्रमा आउने अधिकांश आवेदक एसईई पास गरेकादेखि स्नातक अध्ययनरत विद्यार्थी छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३५६ जनाले आवेदन दिएका छन्।
यस पटकको मेलामा १२० वटा रोजगारका अवसर रहेको र ५ हजारभन्दा बढी नागरिकले भ्रमण गर्ने अपेक्षा गरिएको छ। तर रोजगारदाताहरूले नजिकका व्यक्तिलाई रोजगारी दिन दबाब पर्ने गरेको गुनासो गर्दै आएका छन्। विराटनगरमा अध्ययनका लागि आएका अन्य जिल्लाका विद्यार्थीहरूले पनि रोजगारीको खोजी गर्ने गरेका छन्।
सेवाग्राहीहरूले रोजगार मेलामा सहभागी रोजगारदाताहरूले वास्तविक रोजगारी नदिएको गुनासो गर्दै आएका छन्। महानगरपालिकाले मेलामा प्राप्त आवेदनहरू अन्य समयमा पनि विभिन्न रोजगारदाताकहाँ पठाउने गरेको जनाएको छ।
फोटो:फाइल