विराटनगर । औद्योगिक शहर विराटनगरमा सीप र क्षमता भएका आकांक्षीलाई रोजगारदातासँग जोड्न दुईदिने मेला सुरु भएको छ ।
विराटनगर महानगरपालिकाले तीनसय जना आकांक्षीलाई रोजगारी दिलाउने उद्देश्यसहित मेलाको शुभारम्भ गरेको हो ।
विराटनगर–७ स्थित विरेन्द्रसभागृह परिसरमा रहेको इकोपार्कमा सोमबार उद्घाटन भएको मेलामा ३० स्टल रहेका छन् । जहाँ साना, घरेलु तथा मझौला उद्योग, रोजगारदाता कम्पनी, सञ्चार संस्था समेतले स्टल राखेका छन् ।
मेलाको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख नागेश कोइरालाले मेलामार्फत रोजगार आकांक्षी र रोजगारदाताको पहिचान गरेर आवश्यकता आधारमा जनशक्ति व्यवस्थापनमा महानगरपालिकाले सहजीकरण गर्ने बताउनुभयो । उहाँले गतवर्ष आयोजित मेलामार्फत १३७ जनालाई रोजगारी दिलाउन सफल भएको जानकारी दिनुभयो । यो वर्ष तीनसय जनालाई रोजगारीमा जोड्न लक्ष्यका साथ स्वीस कन्ट्याक्टको सहयोगमा मेला आयोजना गरिएको उहाँले बताउनुभयो ।
प्रमुख कोइरालाले अध्ययन सकाएर मात्रै बसेकालाई भन्दा अध्ययनपछि तालिम र सीप सिकेकाहरुले मेलामार्फत बढी फाइदा लिनसक्ने देखिएको बताउनुभयो । उहाँले रोजगारदाताको आवश्यकता अनुसारको जनशक्ति तालिम र सीपबाट मात्रै तयार हुने बताउनुभयो । ‘घोकन्ते शिक्षाले मात्रै रोजगार सिर्जना हुन्छ भन्ने मान्यता नरहन युवाहरुलाई आग्रह गर्दछु’ प्रमुख कोइरालाले भन्नुभयो–अब सीपमा समेत ध्यान दिन जरुरी छ ।
उपप्रमुख शिल्पा निराला कार्कीले अघिल्लो वर्षको कमिकमजोरीलाई सच्याउँदै यो वर्षको मेलाबाट ४०० जनालाई रोजगारी सिर्जना गर्ने दावी गर्नुभयो । उहाँले आवश्यकताका आधारमा रोजगारी दिलाउन स्थानीय तहले मेलामा रोजगारदाता र आकांक्षीलाई जोड्ने पुलको काम गरेको बताउनुभयो । यसवर्षको मेला आयोजना गर्नुपूर्व रोजगारदाताको आवश्यकता अध्ययन गरेर आकांक्षीहरुका लागि सार्वजानिक सूचना प्रकाशित गर्दा ३०० जनाले विवरण पठाएको उहाँले बताउनुभयो । मेलामार्फत थप एकसय जनालाई अवसर सिर्जना हुने उहाँको बुझाई छ ।
कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले स्थानीय तहले बेरोजगार समस्या झेलिरहेका आकांक्षीलाई रोजगारदाताको सम्पर्क ल्याउने कार्यले औद्योगिक जनशक्ति व्यवस्थापनमा सहज हुने बताउनुभयो । साना घरेलु तथा मझौला उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले आत्मानिर्भरताका लागि उद्योग स्थापना गर्नेहरुका लागि बिऊ पूँजी व्यवस्थापन गर्नका लागि सुझाव दिनुभयो । विराट व्यापार संघका उपाध्यक्ष शरद श्रेष्ठले व्यापारी प्रतिष्ठानहरुलाई आवश्यक जनशक्ति रोजगार मेलाबाट पर्याप्त आपूर्ति गर्न सकिने संभावना रहेको बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले १० जनालाई मेलास्थलबाटै नियुक्ति दिने गरी सूचना आह्वान गरेको छ । अध्यक्ष निरौलाका अनुसार डेरी उद्योगका लागि सेल्समेन २ जना, सवारी चालक १ जना, उत्पादन सहयोगी २ जना रहेका छन् । यसैगरी थारु परिकार, टेलरिङ्ग बुटिक महिला २ जना र बाटेको धुप बनाउने दुईजनालाई मेलास्थलबाटै नियुक्ति दिने अवसर रहेको जानकारी दिइएको छ ।