विराटनगर । घरभित्र महिलामाथि हुने हिंसा हतपत बाहिर आउँदैन । घरकी छोरी हुँदा बुहारी र भाउजुलाई नकारात्मक भाव राख्ने महिला बुहारी बनेर गएको घरकी छोरी ‘नन्द–आमाजु’ बाट पीडित हुने घटना थुप्रै छन् । यति मात्रै नभई बुहारी हुँदा आफूले भोग्नु परेको हिंसा आमा हुँदै बुहारी भित्रयाएर सासु हुँदा पनि चलनको रुपमा चलाउने अवस्था अहिले पनि छ ।
विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार अहिले पनि यो अवस्थाको अन्त्य नभएर थुप्रै उजुरीहरु न्यायिक समितिमा आउने गरेका छन् । उजुरी हाल्ने पीडितमा शिक्षित र उच्च घरानाको तुलनामा न्यून आयआर्जन भएका अशिक्षित परिवारका धेरै देखिएकाछन् ।
त्यो भन्दा बिकराल अवस्था महिलाले महिलामाथि भन्दा पुरुषले महिलामाथि गर्ने हिंसाको अवस्था जोखिमपूर्ण र संवेदनशील रहेका छन् । यतिसम्मकी पुरुष सत्ताको भासमा महिलाहरुलाई घर बाहिर निस्कन नदिएर आयआर्जनमा जोडिनबाट बन्चित गर्ने घटना धेरै रहेका छन् ।
विराटनगरको दक्षिणी क्षेत्रका वडाहरुमा देखिएको समस्या समाधान गर्न विराटनगर महानगरपालिकाले गतवर्षदेखि परिवार मिलन कार्यक्रम सुरु गरेको थियो । त्यो कार्यक्रम यो वर्ष समेत गरिरहेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो । कार्यक्रमको रुपरेखा नै महिला रुपान्तरणबाट सुरु गरेर परिवार मिलनमा समाप्ती गर्नेछ । जस्तो की कुनै घरकी महिला घरेलु हिंसामा परेको भए सबैभन्दा सुरुमा उनलाई कानुनले दिएका अधिकारको विषयमा जानकारी गराउने । महिलालाई बारम्बार कानुनको जानकारी गराएपछि उनका श्रीमान्लाई घरेलु हिंसा र यसले महिलालाई पु¥याउने जोखिमको बारेमा जानकारी गराउने । त्यसपछि श्रीमान् र श्रीमतीलाई सँगै राखेर जीवन व्यवहार र आफ्ना सन्तानको भविष्यका बारेमा सोच्न योग्य बनाएपछि घरपरिवारमा भएका अन्य सदस्यसँग कानुनको विषय पढाउने गरिएको छ ।
उपप्रमुख कार्कीका अनुसार महिला रुपान्तरण अभियान प्रारम्भ गरेदेखि अहिलेसम्म एकसय भन्दा बढी परिवारको मिलन गराउन संभव भईसकेको छ । हिंसामा परेकी महिलालाई कानुनका बारेमा जानकारी दिएर सुरु गरिने रुपान्तरण अभियान परिवार मिलन कार्यक्रममा टुङ्ग्याउँदा घरभित्र सबैको अपनत्व कायम हुने गरेका हुन् । विराटनगर महानगरपालिकाले विराटनगर १८, १७, १६, १५, १३, १४ नम्बर वडामा यो कार्यक्रमलाई यो वर्ष समेत पुनः सुरु गर्ने तयारी गरेको छ । पीडितका उजुरीका आधारमा त्यस्तै किसिमका घटनाको विवरण संकलन न्यायिक समितिका सदस्यहरुले संकलन गर्दै आएका छन् । वडामा आएका विवाद मिलाउन नसक्दा न्यायिक समितिसम्म जोडिने गरेका छन् । त्यहाँ जोडिएका बाहेक कसैले दिएको जानकारीका आधारमा समेत पीडित भएको स्थानमा पुगेर हिंसामा परेका महिलाको विवरण संकलन गरिदैं आएको छ । ‘परिवार नै पढाउँदै कानुन बुझाउँदा त्यसले धेरै रुपान्तरण ल्याउन सकेको छ’ उपप्रमुख कार्कीले भन्नुभयो–एउटा वडामा २० परिवारसम्मको पुर्नमिलन गराएका छौं ।
कतिपय परिवारमा श्रीमान र श्रीमतीबीचको विवाद घरभित्रै महिला बस्नुपर्ने, आयआर्जनका काम गर्न नहुनेदेखि पैसा अभावमा केहि गर्न नसक्ने जस्ता समस्याबाट गुज्रने गरेको समेत देखिएको छ । यस्तोमा महिलालाई बिऊ पूँजी दिएर सवल बनाउने कार्यक्रम समेत राखिएको छ । महानगरपालिकाले गतवर्ष मात्रै बिऊ पूँजी दिएर धेरै महिलाहरुलाई स्वरोजगारको बाटोमा जोडेको उपप्रमुख कार्कीले जानकारी दिनुभयो ।
विराटनगर महानगरपालिकाले गतवर्ष र चालु आर्थिक वर्षमा मात्रै ३९ जना घरेलु हिंसामा परेका महिलाहरुका लागि १२ लाख ४० हजार बराबरको बिऊ पूँजी दिएर व्यवसायमा लगाएको छ । जसमा चटपटे पसल, चिया पसल, तरकारी व्यवसाय, कस्मेटिक तथा श्रृंगार, किराना, बाख्रा पालन, भक्का, प्याजी, रुवा बत्ति व्यापार, सिलाई कटाई, रहेको छ । हिंसामा परेका कतिपय महिलालाई बहस पैरवी खर्च समेत उपलब्ध गराईदै आएको उपप्रमुख कार्कीले जानकारी दिनुभयो ।