विराटनगर । विराटनगरको नेपाल बिजनेस कलेजले काठमाडौंमा सम्पन्न तेस्रो संस्करणको कोडफेस्ट २०२४/ह्याकाथनमा युनिक आइडिया एण्ड फिजिबिलिटी विधामा रु.५०,००० को पुरस्कार जित्न सफल भएको छ।मंसिर २८, २९ र ३० गते आयोजित यस राष्ट्रियस्तरको आईटी प्रतियोगितामा कलेजका बीआईटी विद्यार्थीहरू जितेन मण्डल, अबुजर खान, रुजल बानिया र ओसामाले कोशी प्रदेशको प्रतिनिधित्व गरेका थिए। विद्यार्थीहरूलाई बीआईटी कोर्डिनेटर ओमर फारुक र आईटी फ्याकल्टी अभय दासले विषयगत मेन्टरशिप प्रदान गरेका थिए भने बीबीए कोर्डिनेटर पिंकी शर्माले व्यवसायिक पक्षको मेन्टरशिप गरेकी थिइन्।टिमले एक भर्चुअल परिवार वेब एप विकास गरेको थियो, जसमा प्रयोगकर्ताहरूले आफ्ना समस्याहरू साझा गरी परिवारका विशेष सदस्यहरूबाट सुझाव प्राप्त गर्न सक्ने व्यवस्था थियो। एपमा प्रयोग भएको एआई फिचरलाई वास्तविक तथ्यांकका आधारमा तालिम दिइएको थियो र यसले प्रयोगकर्ताहरूलाई व्यक्तिगत सुझावहरू प्रदान गर्ने गर्दथ्यो। साथै, प्रयोगकर्ताहरूले घरमै बसेर आफ्नो समस्या अनुसारको मनोचिकित्सकसँग भिडियो कलमार्फत काउन्सेलिङ सेवा लिन सक्ने सुविधा पनि समावेश गरिएको थियो।नेपालका सातै प्रदेशबाट १७ टिमको सहभागिता रहेको यस प्रतियोगितामा विद्यार्थीहरूको सहभागिता महत्वपूर्ण रहेको कलेजका मेनेजिङ डाइरेक्टर दीपक कोइरालाले बताए। उनका अनुसार कलेजले यस्ता प्रतियोगितामा विद्यार्थीहरूको सहभागिताका लागि लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरेको छ। गत वर्ष धरानको इन्जिनियरिङ कलेजमा आयोजित ह्याकाथन प्रतियोगितामा पनि नेपाल बिजनेस कलेज प्रथम भएको थियो।विराटनगर-११ मा रहेको नेपाल बिजनेस कलेजमा हाल बीबीए, बीआईटी र एमबीए गरी ३७५ भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन्।