विराटनगर । विराटनगर महानगरपालिका–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको विकास कार्य अलपत्र परेको छ। विराटनगर किंग्स टोलीको होम ग्राउण्डको रुपमा रहेको यो रंगशाला कोशी प्रदेशको एकमात्र सरकारी स्तरको क्रिकेट मैदान हो।
२०५५ सालमा बहुउद्देश्यीय रंगशाला निर्माण गर्ने योजनाका साथ १५ विघा १० कट्ठा जग्गा अधिग्रहण गरिएको थियो। क्रिकेट मैदानको लागि ५ विघा क्षेत्रफल छुट्याइएको छ। हालसम्म टर्फ विकेट, स्कोरर बोर्ड, साइड स्क्रिन र करिब सय जना अट्ने प्यारापिट निर्माण भइसकेको छ। साथै टेनिस कोर्ट र सुटिङ हल समेत निर्माण गरिएको छ। तर क्रिकेट मैदान वरिपरि घेरिएको भए पनि बाँकी जग्गा गौचरणमा परिणत भएको छ।
२०८० कात्तिक १९ गते युवा तथा खेलकुद मन्त्रालयले डिपीआर निर्माणका लागि २ करोड ७९ लाख ७४ हजार रुपैयाँ माग गरेको थियो। तत्कालीन मन्त्री डिगबहादुर लिम्बूले डिपीआर बनेपछि बढीमा तीन वर्षभित्र रंगशाला निर्माण सम्पन्न हुने बताएका थिए। आर्थिक वर्ष २०८०/८१ मा ६६ करोड ९३ लाख, ०८१/८२ मा १ अर्ब ११ करोड ८९ लाख र ०८२/८३ मा ९७ करोड ९० लाख रुपैयाँ बजेट माग गरिएको छ।
जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरेसीका अनुसार रंगशालामा एनपीएल खेल गराउन मैदान योग्य छ। तर पेभेलियन, ड्रेसिङ रुम, चेन्जिङ रुम, प्यारापिट र शौचालय निर्माण गर्न बाँकी रहेको छ। मोरङ जिल्ला खेलकुद समितिका प्रमुख राजन पोखरेलले राष्ट्रिय खेलकुद परिषद्को नयाँ मास्टर प्लान अनुसार १५ हजार दर्शक क्षमता सहितको नयाँ डिपीआर तयार भएको जानकारी दिए। राष्ट्रिय गौरवको आयोजना भएकाले रंगशालाको सम्पूर्ण निर्माण कार्य राखेपले नै गर्ने उनले बताए।
यता, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको फाइनल खेल पुस ६ गते शनिबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ फ्रेन्चाइज टोली सहभागी छन्। विराटनगर किंग्स, पोखरा एभेन्जर्स, जनकपुर रोयल्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स र लुम्बिनी लायन्स टोलीहरूले सहभागी थिए। क्यानले दोस्रो संस्करणमा होम एण्ड अवे फर्म्याटमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।
गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण नहुदा विराटनगर किंग्सले विराटनगर ज्वाला क्रिकेट मैदानमा तयारी गरेको थियो। पहिलो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो अन्तिम खेलमा काठमाडौं गुर्खाजसग एक विकेटले पराजित हुदै विराटनगर किंग्सले हारका साथ प्रतियोगिता समाप्त गरेको थियो । विराटनगर किङ्स टोलीमाा सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दीपक बोहोरा, सुभाष भण्डारी, नरेन भट्ट, म्रिनाल गुरुङ, अकिब इल्यास, निकोलस कीर्तन, मार्टिन गप्टिल, क्रिस सोल,इस्मत आलम र स्कट एडवार्ड रहेका थिए । भने मुख्य प्रशिक्षकमा आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्राइन रहेका थिए।