विराटनगर । विराटनगरमा शुक्रबार साँझ तीव्र गतिमा गुडिरहेको सेतो क्रेटा कारले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।
ट्राफिक चौकबाट रोडशेष तर्फ जाँदै गरेको नम्बर नखुलेको सेतो क्रेटा कारले विपरीत दिशाबाट आउँदै गरेको ना ३२ प २२५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरी इनरुवा ९ का ३७ वर्षीय आनन्द खतिवडा र पछाडि सवार विराटनगर १४ का ३९ वर्षीय श्रवण राउत घाइते भएका छन् । स्थानीय प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा आएको कारले मोटरसाइकललाई ठक्कर दिएर फरार भएको थियो ।
घाइते दुवैको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । मोटरसाइकल चालक खतिवडाको दाहिने खुट्टा भाँचिएको छ भने राउतको अवस्था सामान्य रहेको बताइएको छ । ठक्कर दिएर फरार रहेको कारको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।