विराटनगर । विराटनगरमा विभिन्न ‘डन’ समूहको संरक्षणमा साना किसिमका हुलहुज्जत र आक्रमणका घटना हुने क्रम बढेको छ । रात्रीकालिन होटल व्यवसाय सञ्चालनपछि त्यहाँको लाभसँग ‘डर’ मिसाउने योजनाका साथ विभिन्न आक्रमणका घटना बढ्न थालेको प्रहरीको अनुमान छ ।
पछिल्लो समय एयरपोर्ट रोडस्थित तृष्णा रेष्टुरेन्ट भित्रबाट सुरु भएको विवादको पर्दा पछाडी समेत विराटनगरमा ‘डन होड’ चलाउने योजना देखिएको हो । जसलाई प्रहरीले विभिन्न सुक्ष्म अध्ययनबाट अध्यनन गरिरहेको छ । शुक्रबार रातीको विवादपछि शनिबार दिउँसो बालाजी क्लोथ तथा तृष्णाका सञ्चाालकमध्येका विजय अग्रवालमाथि भएको प्रतिआक्रमणमा समेत कहिं न कहिं डन दावी गर्नेहरुको सिंगनल रहेको अनुमान गरिएको छ ।
प्रहरीले यो घटनामा संलग्नमध्ये तृष्णाका बाबुल खान र सुगम केशरीलाई तथा अर्को समूहका रुस्तम उप्रेतीलाई शनिबार नै पक्राउ गरिसकेको थियो । त्यसपछि थप दुईजना मोलिस लामा र रुपेश कामतलाई समेत पक्राउ गरेको छ । यसमध्ये कतिपयको पृष्ठभूमि अपराध रहेको छ । ज्यान मार्ने उद्योग, हातहतियार खरखजना र सार्वजानिक दुव्र्यवहारमा सजाय भोगिसकेकाहरु नै पुनः ग्याङ्ग अपराधमा संलग्न हुन खोजिरहेको देखिएको छ ।
प्रहरीले अघिल्लो वर्ष सिंघासन रेष्टुरेन्टबाट सुरु भएको घटना अहिले तृष्णासम्म आउँदा कहिंकतै टाउकेहरुको निर्देशनमा पुच्छरहरु हल्लिएको हो की भन्ने कोणबाट अनुसन्धान थालेको छ ।
मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले गुण्डागर्दी कुनैपनि किसिमको छुट नहुने गरी सुक्ष्म अनुसन्धान भईरहेको बताए । उनले पक्राउ परेकाहरुबाट खुल्न आएका व्यक्तिहरु नियन्त्रणमा लिने र अनुसन्धान गर्ने कुरामा प्रहरी कहिं कतै पनि नरोकिने दावी गरे । ‘को–को पर्ने हुन् थाहा छैन, गुण्डागर्दी कुनैपनि रङ्गमा पोतिन दिइने छैन’ एसपी चिमरियाले भने–अनुसन्धानलाई त्यहि कोणबाट बढाईरहेका छौं ।
यो घटनामा संलग्नमाथि अनुसन्धान गरिरहेका प्रहरीका अनुसन्धान अधिकृतले समेत पक्राउ परेकाहरु तृष्णाका कर्मचारी हुन् वा अन्य कोहि न कोहि गुण्डा नाइकेको सिंगलमा चल्ने देखिएको बताए । उनका अनुसार अहिले विराटनगरमा यसको संस्थागत लाइन बाहिर देखिएको छैन, तर भित्रभित्र होडबाजी गर्ने तीनवटा समूह रहेका छन् । जसमा पुष्पलालचौक केन्द्र, जनपथ टोल केन्द्र र हाटखोला केन्द्र बनाएर ग्याङ्ग परिचालन गर्नेहरु छन् । नाइकेहरु समेत पूर्व अपराधी पृष्ठभूमि भएका कारण उनीहरुले परिचालन गर्नेहरुमध्ये धेरै अपराधमै जोडिएका समेत रहेका छन् ।
पछिल्लो समय पक्राउ परेका मोलिस लामा र सुरेश कामत घटना गराउने संदिग्ध अवस्थामै पक्राउ परेका छन् । उनीहरुमध्ये लामासँग खुकुरी समेत बरामद भएको छ । पूर्व अपराधिक पृष्ठभूमि भएकाबाट कुनै पनि बेला जोखिम छ भन्ने अनुमान प्रहरीले गरेकोले रात्रिकालिन होटल व्यवसायलाई सुरक्षित बनाउने जोखिम थप देखिएको छ । जसमा होटल सञ्चालकहरु नै बढी चनाखो हुनुपर्ने प्रहरीको सुझाव छ ।
प्रहरीले तृष्णा रेष्टुरेन्टबाट सिर्जित घटना ट्राफिक चौकसम्म आउँदा दिउँसै आक्रमण गर्ने हिम्मत कसले दिईरहेको छ भन्ने कुरालाई बढी केन्द्रीत गरेको छ । तृष्णा तथा बालाजीका सञ्चालक अग्रवालले दिएको जाहेरी भन्दा अझै धेरै संलग्नहरु रहेका कारण पक्राउ परेकाहरुलाई अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । यद्यपी यसमा संगठित गिरोहका संलग्नता देखिए मुद्दाको कसुर र सजाय फरक पर्ने बताइन्छ ।
तृष्णा सञ्चालकको आफ्नो दावी
तृष्णाको सञ्चालन र व्यवस्थापन गर्दै आएका अमन साहले भने यस विषयमा आफ्नो भनाई राखेका छन् । उनले होटलमा गुण्डागर्दी हावी हुँदा अन्य ग्राहकलाई समस्या परेको जिकीर गरेका हुन् । उनका अनुसार त्यो दिन पहिलो लाइनमा चारजना बसेका र उनीहरूले निरन्तर रूपमा बाउन्सरसँग दुर्व्यवहार गरेको बताएका छन् । बन्द हुने समयमा आधा बिल तिर्न अस्वीकार गरेका उनीहरुले अन्य ग्राहकसँग समेत झगडा गरेका थिए । रुस्तम उप्रेती समूहले सात हजार ५०० रुपैँयाका खाजा खाएको बिल ६ हजार मात्रै बुझाउने भनेपछि झगडा भएको भनाई छ ।
‘यी सबै घटनाको दौरान हामी के गर्नुपर्ने ? हामीले उनीहरूलाई बुझाउन र शान्त बनाउने प्रयास गर्नुपर्ने हो, एक घण्टासम्म त्यस्तै प्रयास गर्यौँ तर, उनीहरूले कुरा बुझ्न मानेनन्’ साहले भनेका छन् ।
जब स्थिति नियन्त्रण बाहिर गयो, हाम्रा मालिकहरूले हस्तक्षेप गरी समस्या समाधान गर्ने प्रयास गरे। मालिकहरूले ती व्यक्तिहरूलाई सम्झाउन केही मिनेटसम्म प्रयास गर्नुभयो। तर, प्रक्रियाकै क्रममा ती व्यक्तिहरूले दुर्व्यवहार मात्र गरेनन्, हाम्रो एकजना मालिकलाई छातीमा मुक्का हाने !
स्थिति पूर्ण रूपमा अनियन्त्रित भएपछि उक्त घटना भएको साहले बताएका छन् ।
उनले यसमा रेष्टुरेन्टले हालसम्म करिब ३ लाख ग्राहकलाई सेवा प्रदान गरिसकेको बताएका छन् । विराटनगरमा रेस्टुरेन्ट चलाउनु अपराध नभएकोले गुण्डाहरुलाई निःशुल्क सेवा दिन अस्वीकार हुने जिकीर गरे । उनले यदि तृष्णाको समस्या भए अहिलेसम्म तीनलाख ग्राहकसँग झगडा परिसक्नुपर्ने थियो भनेर बताएका छन् ।
हामीलाई यी सबै घृणाबाट बचाउनुहोस्। हामी केवल रेस्टुरेन्ट चलाउँदैछौँ। हामी यस देशमै केही गर्न मेहनत गरिरहेका छौँ। हामी आवश्यक परेका व्यक्तिहरूलाई रोजगारी दिइरहेका छौँ, साहले भनेका छन् यदि कसैलाई हाम्रो सेवा मन पर्दैन भने, हामी सुझावहरू स्वीकार गर्न तयार छौँ। तर, हामी दुर्व्यवहार, झगडा, घृणा र गुण्डाहरूको निशाना बन्न तयार छैनौँ।