विराटनगर । सामुदायिक विद्यालयका विद्यार्थीलाई सहभागि गराएर विराटनगरमा पहिलो पटक महानगरस्तरीय ‘को बन्छ स्टार’ नृत्य तथा गायन प्रतियोगिता आयोजना गरिएको छ ।
विराटनगर महानगरपालिकासंगको सहकार्यमा सृष्टी नृत्य कला प्रशिक्षण केन्द्रले सो प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा महानगरभित्रका १७ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएका छन । उक्त प्रतियोगिताको पहिलो अडिसन शनिवार विराटनगरस्थित सनातन धर्म सेवा समितिको सभा हलमा सम्पन्न भएको छ । पहिलो अडिसनमा १० वटा सामुदायिक विद्यालयका कक्षा ५ देखी कक्षा १२ सम्मका ४९ जना विद्यार्थीले सहभागिता जनाएका छन । जसमा नृत्यतर्फ ३७ जना र गायनतर्फ १२ जना विद्यार्थीले सहभागिता जनाएको आयोजक संस्थाकी सदस्य गीता कोईरालाले जानकारी दिनुभयो ।
अडिसनबाट गायनतर्फ ७ जना र नृत्यतर्फ १७ जना पहिलो चरणको छनौटमा परेको उहाँले जानकारी दिनुभयो । प्रतियोगिताको छनौटमा गायनतर्फ संगीतकार सुधिर शाही र गायन तर्फ नृत्यतर्फ नृत्य निर्देशक सुमन रुचाले निर्णायकको भुमिका निर्वाह गर्नुभयो । सामुदायिक विद्यालयका विद्यार्थीलाई सहभागि गराएर पहिलोपटक आफ्नो संस्थाले प्रतियोगिता आयोजना गरेको सृष्टि नृत्य कला प्रशिक्षण केन्द्रका अध्यक्ष समेत रहेका नृत्य निर्देशक राजकुमार रायले दाबी गर्नुभयो । उहाँले यसअघि आफुहरुले पनि संस्थागत विद्यालयलाई मात्र सहभागि गराएर कार्यक्रम आयोजना गर्दै आएपनि पहिलो पटक सामुदायिक विद्यालयलाई सहभागि गराएर कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
यस प्रकारको प्रतियोगिताले सामुदायिक विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न सघाउ पुग्ने उहाँको भनाई छ । प्रतियोगिताकालागि थप दुई वटा छनौट कार्यक्रम गरेर माघ महिनामा फाईनल प्रतियोगिता आयोजना गरिने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा विराटनगर महानगरपालिका वडानम्बर २ का सचिव खगेश्वर काफ्ले,वडा सदस्यद्वय दीपक प्रधान र मेनुका परियारका साथै विद्यार्थीका अभिभावकहरुको सहभागिता थियो ।