‘वैज्ञानिकले सन्तुलित वातावरण बनाउने दायित्व लिनुपर्छ’

<span class='c1'>‘वैज्ञानिकले सन्तुलित वातावरण</span> <span class='c2'>बनाउने दायित्व लिनुपर्छ’</span>

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले वैज्ञानिकहरुले नै स्वच्छ र सन्तुलित वातावरण बनाउनु पर्ने बताउनुभएको छ ।
नेपाल जोलोजिकल सोसाइटी (नेजोस) कोशी प्रदेशले शनिवार विराटनगरमा आयोजना गरेको एक सेमिनारको उद्घाटन गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । उहाँले भन्नुभयो–वैज्ञानिकहरु निस्वार्थी,लगनशील र मानवजगतको शुभ चिन्तक हुन्छन् । उनीहरुको स्वार्थ नै मानव जीवनलाई सुखी र खुशी बनाउने हो । साथै, अहिले भइरहेको भूउष्णीकरण, जलवायु परिवर्तन, असन्तुलित वातावरणलाई सन्तुलित बनाई वातावरणीय समस्याहरुको समाधान गर्ने जिम्मेवारी पनि वैज्ञानिकहरुकै काँधमा रहेको पनि बताउनु भयो ।

प्रयोगात्मक प्रयोजनमा राखिएको माछालाई चारो खान दिएर प्रदेश प्रमुखले सो सेमिनारको उद्घाटन गर्नुभएको थियो । उहाँले थप्नुभयो– जीव वैज्ञानिकहरु जैविक विविधतालाई माया गर्छन् र संकटमा परेका जनावरहरुलाई उद्धार गर्छन् भन्ने संकेत कार्यक्रमको यो उद्घाटन शैलीले दिएको छ ।
एक दिने प्राणी विज्ञानसम्बन्धी सेमिनारमा नेपाल जोलोजिक सोसाइटीका अध्यक्ष प्राडा महेन्द्र महर्जनले सोसाइटीले देशैभरि गरेका क्रियाकलापहरुको जानकारी गराउनु हुँदै प्राणी क्षेत्रमा गरिने अनुसन्धानले देशको समृद्धिमा टेवा पुग्ने बताउनु भयो । नेजोस कोशीका अध्यक्ष शालीग्राम अधिकारीले जीव वैज्ञानिकहरुले गर्ने अनुसन्धान आफ्नो निजि जीवनको लागि मात्र नभएर मानव हितका लागि र समाजको समृद्धिको लागि हुने बताउनु भयो । नेपाल जोलोजिकल सोसाइटी जोलोजी (प्राणी विज्ञान) मा स्नातकोत्तर तह पास गरेका व्यक्तिहरुको संस्था हो । हाल यसका करिब दुई हजार सदस्यहरु छन् ।

एक दिवसीय सो सेमिनारमा कोशी प्रदेशमा रहेर विद्यावारिधि गरिरहेका प्राणीशास्त्रीहरुले आफूले गरेको अनुसन्धानका प्रतिवेदनहरु प्रस्तुत गरेका थिए ।

प्रोफेसर खम्बू पुरस्कृत
यस वर्षको सोमप्रसाद निरौला प्राणी विज्ञान पुरस्कारबाट प्राडा कालुराम खम्बू राई पुरस्कृत हुनुभएको छ । नेपाल जोलोजिकल सोसाइटी (नेजोस) कोशी प्रदेशले सञ्चालन गरेको उक्त पुरस्कारबाट प्राडा राईलाई कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, नेजोसका केन्द्रीय अध्यक्ष प्राडा महेन्द्र महर्जन र पुरस्कारका संस्थापक सोमप्रसाद निरौलाले सम्मान गर्नुभयो । पुरस्कारको राशि २० हजार रुपैयाँ नगद छ । प्राणी विज्ञानको क्षेत्रमा लामो समयदेखि अध्ययन,अध्यापन, अनुसन्धान, संरक्षण शिक्षा र नीति निर्माणको भूमिकाबाट जैविक विविधताको संरक्षणमा योगदान गरेको ठहर गर्दै यस वर्षको प्राणी विज्ञान पुरस्कारबाट उहाँलाई सम्मान गरिएको नेजोसले जनाएको छ ।

झापा भद्रपुर निवासी प्राडा राईले सरिसृप र उभयचरका विषयमा सन् २००२ मा विद्यावारिधि गर्नुभएको थियो र उहाँ नै यस विषयको नेपालको पहिलो विद्यावारिधि हुनुहुन्छ । राईले तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रका प्रत्येक वार्डमा पुगेर सर्प भ्यागुता वर्गका जनावरहरुको अध्ययन अनुसन्धान गरी त्यहाँ संरक्षणका लागि सचेतनामूलक कार्यक्रमहरु चलाउनुभएको थियो । उहाँले प्राणी विज्ञान सम्बन्धीका आधा दर्जन पुस्तकहरु प्रकाशन गर्नु भएको छ भने झापाको सालबारी सिमसार क्षेत्रमा कछुवा उद्धार तथा प्रजनन् केन्द्रसमेत सञ्चालन गर्नुभएको छ । प्राडा राई प्रतिनिधि सभाका सदस्य पनि हुनुहुन्छ । उहाँलाई सम्मान गर्न आयोजित कार्यक्रममा उहाँको व्यक्तित्व र कृतित्वका बारेमा चर्चा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्