विराटनगर । मोरङको धनपालथान गाउँपालिका– ७ मा रहेको सर्वोदय माध्यमिक विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाको सहयोगमा थ्री जिरो क्लब र विद्यालयले हाजिरीजवाफ प्रतियोगिता आयाेजना गरेकाे थियाे । तीन शून्य (शून्य गरीबी, शून्य बेरोजगारी र शून्य खुद कार्बन उत्सर्ज)का लागि युवाहरुलाई सक्रिय बनाउने तथा तीन शून्यको अवधारणामा स्पष्टता ल्याउँदै विद्यार्थीका लागि अतिरिक्त क्रियाकलापका रुपमा प्रतियोगिता सञ्चालन गरिएकाे थियाे ।
प्रतियोगितामा माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीले पाँच समूह बनाएर भाग लिएका थिए । प्रतियोगितामा सहभागिता जनाएको सुनाखरी समूह प्रथम भएको छ । गोदावरी समूह दोस्रो र लालीगुराँस समूह तेस्रो भएको छ । सयपत्री र मखमली समूहले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।
विजयी भएका विद्यार्थीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाको तालिम विभाग प्रमुख रञ्जना निरौला, उद्यमशीलता विकास प्रमुख मनोज शर्मा र विद्यालयका शिक्षकले पुरस्कार वितरण गरेका थिए ।