विराटनगर । प्रदेशको ढुकुटी खर्च गरेर काठमाण्डौं आउजाउमा हवाई टिकटमा मात्रै कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १० लाख ९३ हजार ३३५ रुपिँया राज्यकोषबाट खर्च गरिसकेका छन् । उनको यो पछिल्लो दुई वर्षमा तेस्रोपटक मुख्यमन्त्री बनेपछिको हवाई टिकटको मात्रै खर्च हो ।
सरकारको ढुकुटीबाट खर्चेर हवाई यात्रा गरिरहेका कार्की नेतृत्वको पूँजीगत खर्च भने ११ प्रतिशत हाराहारीमा पनि छैन । चालु आर्थिक वर्षका लागि बिनियोजित बजेट ३५ अर्ब २७ करोड ९३ लाखमध्ये १६ अर्ब २० करोड २७ लाख ९६ हजार पूँजीगत खर्चका लागि रकम राखिएको थियो । पूँजीगत खर्चका लागि बिनियोजित रकममध्ये चालु आर्थिक वर्षको पाँच महिना बितिसक्दा १ अर्ब ७३ करोड ६३ लाख ९१ हजार मात्रै खर्च भएको हो । जुन कुल पूँजीगत खर्चका लागि बिनियोजित रकमको १०.७२ प्रतिशत मात्रै हुन आउँछ ।
प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १ प्रतिशत भन्दा कम पूँजीगत खर्च गरेको छ । आर्थिक मामिलाले ६६ प्रतिशत, स्वास्थ्य मन्त्रालयले ३.६६ प्रतिशत, सामाजिक विकासले ४.५५, पर्यटन, वन तथा वातावरणले ६.३७ प्रतिशत, मुख्यमन्त्री कार्कीले ९.६४ प्रतिशत, उद्योग, कृषि तथा सहकारीले १९.८१ प्रतिशत, खानेपानी तथा सिंचाईले १२.८७ प्रतिशत र भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले १०.९ प्रतिशत खर्च गरेको छ । पूँजीगत खर्चतर्फ भौतिकले ६१ प्रतिशत बजेट ओगट्छ भने खानेपानीले २३ प्रतिशत बजेट ओगटेको छ । जुन मन्त्रालयले विकास निर्माणका लागि खर्चनुपर्ने बजेट खर्चमा तदारुकता देखाउनु पर्ने हो, ती मन्त्रालय समेत अहिलेसम्म सुस्त देखिएका छन् ।
राज्यकोषबाट जहाज चढ्न ३५ लाख खर्च
कोशी प्रदेशमा हालसम्म नेतृत्व गरेका मुख्यमन्त्रीले काठमाडौँ आउजाउ गर्दा प्रदेशको ढुकुटीबाट करिब ३५ लाख रुपैयाँ हवाई भाडामै खर्च गरिसकेका छन् । काठमाडौं आउजाउ गर्दा मुख्यमन्त्रीहरूले ३४ लाख ९० हजार ९११ रुपैयाँको टिकटमा खर्च गरेका हुन् । कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८–७९ देखि २०८०–८१ सम्ममा हवाई जहाजका लागि मत्रै यति खर्च भईसकेको हो ।
यसमा मुख्यमन्त्री कार्की सबैभन्दा अगाडी देखिएका छन् । कार्की दोस्रो प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि २०७९ पुस २५ गते नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बनेका थिए । त्यसपछि २०८० भदौ २२ गतेदेखि असोज २७ गतेसम्म संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको नेताको रुपमा मुख्यमन्त्री बनेका थिए । २०८१ वैशाख २७ गते मुख्यमन्त्री केदार कार्की पदमुक्त भएपछि माओवादी केन्द्रको समर्थनमा हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए । केन्द्रमा नयाँ समीकरण बनेपछि उनी अहिले नेपाली कांग्रेसको समर्थनमा मुख्यमन्त्री छन् ।
हिक्मतपछि धेरै खर्च गर्नेमा केदार कार्की छन् । ६ महिना प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले मात्रै १० लाख ४८ हजार २६० रुपैयाँ हवाई टिकटमा खर्च गरेका छन् । केदार कार्की २०८० असोज २८ गतेदेखि २०८१ वैशाख २७ गतेसम्म कोशी प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार केदार कार्की र हिक्मतकुमार कार्कीले मात्रै गत असारसम्म प्लेन टिकटका लागि २१ लाख ४१ हजार रुपैयाँ खर्च गरेका छन् ।
आर्थिक वर्ष २०७८\७९ देखि २०८०\०८१ मा प्रदेशमा शेरधन राई, भीम आचार्य, राजेन्द्र राई, हिक्मतकुमार कार्की, उद्धव थापा र केदार कार्की मुख्यमन्त्री थिए । २०८० साउन १७ गतेदेखि एक महिना मुख्यमन्त्री बनेका उद्धव थापाले पनि प्लेन टिकटमा ८८ हजार ३० रुपैयाँ खर्च गरेका छन् ।
आर्थिक वर्ष २०७८\०७९ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले प्लेन टिकटमा मात्रै १ लाख ९५ हजार रुपैयाँ खर्च गरेको देखिन्छ । २०७४ फागुन २ गते मुख्यमन्त्री नियुक्त भएका राई २०७८ भदौ १० गतेसम्म भए । मुख्यमन्त्री बनेको अवधीको हिसाबले राई नै बढी किफायती देखिन्छन् ।
उनीपछि मुख्यमन्त्री बनेका भीमप्रसाद आचार्यले १ लाख ४५ हजार प्लेन टिकटका लागि मात्रै खर्च गरे । भीम आचार्य २०७८ भदौ १० गतेदेखि २०७८ कै कात्तिक १६ गतेसम्म मुख्यमन्त्री बनेका थिए । भीम आचार्यपछि मुख्यमन्त्री बनेका राजेन्द्र राई र उनको सचिवालयले प्लेन टिकटका लागि मात्रै राज्यकोषबाट ९ लाख १९ हजार ७५६ रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ । राई २०७८ कात्तिक १६ गतेदेखि २०७९ पुस २५ गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारीमा थिए । आर्थिक वर्ष २०७८\०७९ मा उनले प्लेन टिकटका लागि ३ लाख ४३ हजार ३७६ रुपैयाँ खर्च गरेका थिए । आर्थिक वर्ष २०७९\८० मा ५ लाख ७६ हजार ३८० रुपैयाँ खर्च गरेका थिए ।
पछिल्लो तीन वर्षको अवधिमा मुख्यमन्त्रीसहित मुख्यमन्त्रीको सचिवालयले भत्ता र प्लेन टिकटका लागि मात्रै जम्मा ५५ लाख ७९ हजार ५७५ रुपैयाँ खर्च गरेको मुख्यमन्त्री कार्यालयको खर्च विवरणमा उल्लेख छ । कार्यालयका अनुसार मुख्यमन्त्री र उनको सचिवालयको भत्तामा मात्रै २० लाख ८८ हजार ६६४ रुपैयाँ खर्च भएको छ ।