विराटनगर । गायन यात्रा २४ वर्ष बिताएका ४६ वर्षीय सुरज बानिया नाम चलेका गायक जतिकै गाउँछन् । तर, उनीसँग आफ्नै स्वर भरेका सिर्जना छैनन् । विराटनगर १५ का गायक बाँनियाले आफ्नै स्वर भरेका गीतको रेकर्डिङ्गसयममै नगराउनु उनका लागि अहिले पछुतो जस्तो भएको छ । तर, स्वर भरेर आफ्नो गीति एल्बम निकाल्न नसकेपनि अरुका गीत गाएर लाखौं दर्शक सामु चिनिएका छन् ।‘अर्काका गीत गाउँदा गाउँदै आफ्नै गीतमा स्वर भर्न भुलेछु’ सुरजले भने–तर, नगाएको पनि छैन । उनको स्वर नगुन्जिएका काठमाण्डौंका तारे होटल कमै छन् । त्यहाँ आएका ग्राहकसँग सामिप्ता साटेरै उनले जीवन चलाउने पेसा गायनलाई बनाएका छन् । काठमाण्डौंपछि गृहनगर विराटनगरमै उनको मनले सन्तुष्ट प्राप्त गर्ने कमाई संगीत पेसाबाट आर्जन गरिरहेका छन् । ‘नाम चलेन तर दामले चलिरहेको छ जीवन’ सरल स्वभावका उनले भने–देश विदेश घुमेको छु, स्टेजबाट स्रोतासँग झुमेको छु ।
उनको स्वरमा भरिएको मिठास र निखार उतिबेला स्टेजमा सुनियो । जतिबेला २०५३ सालमा मिल्स मा.वि.को प्राङगणमा नयाँ वर्षको कार्यक्रम आयोजना भएको थियो । उनी आफैं अध्ययन गरेको विद्यालयबाट गायन सुरु गरेका सुरज त्यसपछि रोकिएका छैनन् । यो बीचको दौरानमा उनीसँग थुप्रै अवसर अगाडी आईसकेका छन् । अहिले उनका लागि दैनिकी क्यालेन्डर व्यवस्थापनबाट गर्नुपर्छ । तीन महिनासम्मको क्यालेन्डर व्यवस्थापन गरेर उनले गाउन निम्ता दिनेलाई समय दिनुपर्ने अवस्थाले उनको स्वरमा भरिएको मिठासलाई सहजै दर्शाउँछ ।दरबार हत्याकाण्ड (२०५८ जेठ १९) पछि उनी काठमाण्डौं गएका थिए । त्यसबेला उनको जगदीश समाल र खेमराज गुरुङसँग संगत थियो । ‘जगदीशले आफ्नै एल्बम निकाल्नुभयो, मैले चाँहि त्यसबेला धेरै सोचिनछु’ बानियाले भने–त्यसबेला नाम चलेका गायकहरुले समेत मेरो गीत सुन्थे, सायद यहि रहेछ गायन भने जस्तो मैले सोचेछु ।काठमाण्डौंका पाँचतारे होटलका स्टेजमा धेरैं स्रोता माझ चिनिएका सुरज त्यसपछि जन्मस्थान विराटनगरलाई नै कर्मथलो बनाउन फर्के । यहिंबाट पनि अहिले काठमाण्डौं र पोखराका सांगीगित साँझ भर्न उनी पुग्छन् । उनले सन् २००४ मा रेडियो नेपालमा भजनको कोरस समेत दिने मौका पाएका थिए । त्यसको दुई वर्षपछि नेपाल सांगीतिक संघमा गायक सदस्यको रुपमा आवद्ध भएका छन् ।यो बीचमा उनले गायकको हैसियतमा सिंगापुर, मलेसिया, दुवई, बहराइन र भारतमा पुगेर गीतहरु प्रस्तुत गरिसकेका छन् । सिंगापुरमा उनी लामो समय छ महिनासम्म पनि बसेर गायन पेसामा संलग्न भएका छन् । ‘राम्रो दाम र उत्कृष्ट सम्मान छ’ सुरजले भने–भारतका थुप्रै कलाकारसँग नजिक हुने अवसर पाएको छु । आफ्नो स्वर सुनाएर फर्केका अविस्मरणीय क्षण पनि छन् । भारतका मिका सिंह, प्रिती जिन्टा, साहिल खान, जरा खान, बप्पी लहरी, मो.सलामत जस्ता कलाकार सामु समेत उनले प्रस्तुती दिएको सुनाए । बलिउडका होनाहार कलाकार सामुको प्रस्तुतीले गायन यात्रालाई अझै हौसला थपिदिईरहेको छ ।पछिल्लो ४/५ वर्ष यता उनले सातवटा गीतमा आफ्नो स्वर भरेका छन् । आफ्नै लगानीमा पनि उनले गीत सार्वजानिक गरेका छन् । अहिले उनी बोलाइन्छन्, बोलाइ दिए हुन्थ्यो भन्ने लाग्दैन ।
उनी विराटनगरको चार तारे होटल बिगमा हप्ताको चार दिन सुनिन्छन् । त्यस बाहेक विराटनगरका अन्य होटल र गजलमा समेत संलग्न छन् ।उनका लागि पूर्व राजा ज्ञानेन्द्र शाहसहितको परिवारसँग मोरङको नेपालिरिका होटल (विराटचौक) मा सांगीतिक साँझमा प्रस्तुत हुने अवसर समेत जुरेको छ । संयोग भनौं या अवसर तर जी शाहको परिवारले दिनु भएको मायाले म पुलकित बनेको छु, उनले भने । उनले शाह परिवारका लागि दिइएको सांगीतिक साँझपछि जी शाहबाट उपहार समेत पाएको सुनाए । सायदै मलाई मन पराएरै उहाँले एउटा पुस्तक उपहार दिनु भएको छ ।दुबईको वल्र्ड चेन होटल रामी ग्रुप, हवार्ड जमसम, लाक्यून्टा, मर्किक्यूज स्वीस बेल होटलमा समेत उनलाई निमन्त्रणा गरेर नेपाली सांगीतिक साँझ भर्ने अवसर दिइएको छ । उनको बुझाईमा संगीतले मानवको कुलतको नसा नै मेटाउँछ । यो एउटा मेडिटेशन समेत हो । मानौं की यहि मेडिटेशनले सुरजलाई चलाई रहेको छ । चल्नेहरु आफ्नै गीतबाट चलेपनि उनी अर्काको स्वरकै गीत गाएर चलिरहेका छन् । आम्दानीमा सन्तुष्टि र सामाजिक रुपमा आत्मासम्मान भएपछि मानिसको जीवन सार्थक हुन्छ । उनका लागि होटलमा गाउँदा होस या सांगीतिक साँझका स्टेजमा गाउँदा अहिलेसम्म निराश हुनुपर्ने अवस्था छैन । खोजेर जानु पर्दैन, खोज्दै आउनेहरुलाई मैले समय दिनुपर्छ, त्यसका लागि क्यालेन्डर मेन्टेन गरेको छु । घरपरिवारको गुजारा चलिरहेको बताउने उनी आफ्नै कमाईले घर बनाउन सफल भएको सुनाउँछन् ।काठमाडौं अनामनगरको संगीत साधनामा कैलाश राई र सारदा क्षेत्रीसँग घरमै पुगेका उनले संगीतको आधारभूत ज्ञान लिएका छन् । त्यसैले उनलाई पुराना पुस्ताका गायकको गीतमा स्वर भर्न पुगिरहेको छ । नारायण गोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान जस्ता दिग्गज गायकहरुले भरेका स्वरका गीत उनले हुबहु लयमा गाउँछन् । त्यस बाहेक हिन्दी र नेपाली गीतका विभिन्न विधामा उनले स्वर भर्न सक्छन् । भन्छन्–एकसय गीत मनमा छन्, मुखबाट स्वतः निस्कन्छन्, चार हजार गीतको संग्रह छन् । मनमा भएका गीतको फर्माइस भए उनी पस्किहाल्छन्, संग्रहमा भएका गीत भए उनी तयारीसहित प्रस्तुत हुन्छन् ।