इन्दु साह
विराटनगर । नहरलाई स्वच्छ र सफा राख्न विराटनगर महानगरपालिका वडा नंं ५ का स्थानीयले राम्रो पहल थालेका छन् । स्थानीयको पहलमा नहरमा जथाभावी फोहोर फाल्नेलाई कडा कारबाही गर्ने गरी सचेतना बोर्ड राखिएको छ । सचेतना बोर्डमा उल्लेख भए अनुसार फोहोरको प्रकृति हेरी ५ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था गरिएको छ।
विराटनगर ५ का वडा अध्यक्ष सन्तोष न्यौपानेका अनुसार रातको समयमा कार र मोटरसाइकलमा आएर फोहोर फ्याँक्ने समस्या बढेकोले स्थानीयले समिति नै गठन गरी निगरानी बढाएका छन् । वर्षेनी छठ पर्वको बेलामा मात्र सफा हुने नहर अब वर्षभरि नै स्वच्छ राख्ने हाम्रो लक्ष्य छ, वडा अध्यक्ष न्यौपानेले भने । साथै स्थानीय नागरिकले निगरानी गरेदेखी दुई जना नहरमा फोहोर फ्याक्ने व्याक्तिलाई कार्वाही गरिएको छ । नहरछेउका नागरिकले नहरको सरसफाईमा सचेतनामुलक कार्यक्रमहरु मार्फत नहर सफाईमा मद्दत गर्न थालेका हुन् ।
महानगरपालिकाका सरसफाई शाखा प्रमुख पूनम दाहालले यस पहलको प्रशंसा गर्दै अन्य वडाका नागरिकलाई पनि यस्तै सचेतना अपनाउन आग्रह गरेकाछन् । उनका अनुसार वडा नं. ४ र ६ मा पनि यस्तै सकारात्मक पहल सुरु भएको छ। स्वच्छ नहरको महत्व बुझाउँदै दाहालले भने नहरको पानी स्वच्छ भएमा खेतीपातीमा फाइदा पुग्छ। तर प्लास्टिकजन्य फोहोर मिसिएको पानीले माटोको गुणस्तरमा ह्रास ल्याउँछ। यसरी विराटनगर ५ का स्थानीयले नहर सरसफाईमा देखाएको सक्रियता र चासो अन्य क्षेत्रका लागि पनि उदाहरणीय बनेको छ।