इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर ४, ११ १२ र १३ लाई समेट्ने गरी नहर सडक निर्माणको काम गरिरहेको छ। नहरको डिललाई कालोपत्रे गरेर साना सवारीसाधनका लागि बाइपास गराउनेदेखि बिहानै मर्निङवाकका लागि तयार पार्न लागिएको हो ।
विराटनगर महानगरपालिकाको करिब ४ करोड लागतमा नहर डिलको सडक कालोपत्रे गर्ने कार्यको प्रारम्भिक काम भईरहेको छ । विराटनगर–४ पुलचोकदेखि वडा नम्बर १३ को रानी–धरान सडकको नहरसम्म कालोपत्रे हुने भएको हो । एसी,सिसि,एलसिईबि/जेभि निर्माण कम्पनीले यस योजनाको सम्झौता गरेको हो । यस योजनाका लागि ठेक्का लागेर निर्माणकार्य समेत सुरु भइसकेको छ ।
महानगरको ३ करोड ८२ लाख रुपैयाँको आन्तरिक स्रोतबाट सो सडक निर्माण गर्न लागेको छ । साईट ईन्जिनियर अंकित भट्टराईका अनुसार अहिले साढे चार किलोमिटर सडकको भौतिक प्रगति १५ प्रतिशत पुगेको छ । ६ करोड ३४ लाख अनुमानित लागत गरिए पनि ३ करोड ८२ लाख रुपैयाँमा ठेक्का लागेको छ । २०८१ भदौ ६ गते ठेक्का सम्झौता लागेको सो सडकमा तत्काल निर्माणका लागि ग्रावेल हालेर मिलाउने कार्य भईरहेको छ । ठेक्का सम्झौता अनुसार ४ दशमल ५ किलोमिटर सडक निर्माण हुनेछ । यसअघि एयरपोर्ट रोडदेखि केशलिया रोडसम्म कालोपत्रे भइसकेको छ । २०८२ भदौ ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर चैतभित्रै निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको महानगरका इन्जिनियरको भनाई छ ।
४.५ किलोमिटर लम्बाईको उक्त सडको चौडाई ५ मिटर कालोपत्रे गरिने भएको छ । उक्त सडक छेउमा रहेका बोटविरुवा भने जोगाईने ईन्जिनियरको भनाई छ । नहरका छेउ किनारामा विभिन्न समुहहरुले वृक्षारोपण गरेका छन् । उक्त विरुवाहरुलाई नोक्सान नपुर्याई निर्माण कार्य गरीने ईन्जिनियरको भनाई छ। केही ठुला बोटहरुपनि नहर छेउमा छन् । तर हामी ति रुख नकाटि सडक निर्माण गर्ने योजनामा छौ ईन्जिनियर भट्टराईले भने ।