विराटनगर । विराटनगर-४ स्थित हेरिटेज इन्टरनेसनल स्कुलले आफ्नो पहिलो संस्करणको वार्षिक खेलकुद सप्ताह "हेरिटेज स्पोर्ट्स मिट २०२४" सफलतापूर्वक सम्पन्न गरेको छ। "जहाँ मूल्यमान्यताका साथ सिकाइन्छ" भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा विभिन्न खेल प्रतियोगिताहरू सञ्चालन गरिएको थियो।
कार्यक्रममा १०० मिटर दौड, रिले दौड र स्किल रेस जस्ता ट्र्याक एन्ड फिल्ड प्रतियोगिताका साथै फुटबल, क्रिकेट, बास्केटबल, चेस र टेबल टेनिस जस्ता टिम इभेन्टहरू समावेश थिए। विद्यार्थीहरूलाई जल (ब्लु), अग्नि (रेड), वायु (यल्लो) र पृथ्वी (ग्रीन) गरी चार हाउसमा विभाजन गरिएको थियो, जसमा ब्लु हाउसले प्रथम र यल्लो हाउसले द्वितीय स्थान हासिल गरे।
समापन समारोहमा प्रमुख अतिथि युवा नेता मनोजविक्रम शाह र विशिष्ट अतिथि मानव सेवा आश्रमका कोशी प्रदेश संयोजक नवराज केसीको उपस्थितिमा विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरियो। विशेष कार्यक्रममा मानव सेवा आश्रमका प्रदेश संयोजक नवराज केसी र नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित राजवंशीका पिता जयनारायण राजवंशीलाई विशेष सम्मान गरिएको स्कुलका प्रिन्सिपल सुशान्त बानियाँले जानकारी दिए।
विजेता टिमहरूलाई क्रिकेटर ललित राजवंशीका बुबा जयनारायण राजवंशी, मानव सेवा आश्रमका प्रदेश संयोजक नवराज केसी, स्कुलका अध्यक्ष अरुणकुमार राठी र अमिश रेग्मीले संयुक्त रूपमा विजेता कप प्रदान गरे। साथै स्कुलका म्यानेजिङ डाइरेक्टर अरुण राठी र अमिश रेग्मीले केसी र राजवंशीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरे।