प्रेम देवान
विराटनगर । बढ्दो सवारी दुर्घटना न्युनीकरण गर्नको लागि मोरङमा टाईम कार्ड लागुभएसँगै सवारी दुर्घटनामा कमी आएको ट्राफिक प्रहरीको दाबी छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले गत मंसिर १५ गतेबाट कोशी प्रदेशका झापा , मोरङ र सुनसरी जिल्लामा पहिलो चरण अन्तर्गत सवारी टाइम कार्ड लागु गरेको थियो ।
बढ्दो सवारी दुर्घटना न्युनीकरणका लागि भन्दै मध्यम तथा छोटा दुरीका यात्रुवहाक सवारी साधनका लागि टाइम कार्ड लागु गरिएको थियो । मोरङको सुन्दरहरैचा–७ स्थित गछिया चौकमा मंसिर १५ गते एक कार्यक्रमको आयोजना गरी टाइम कार्डको सुरुवात गरिएको थियो । सवारी साधनको गति कम गर्नका निम्ति टाइम कार्ड लागु गरिएसँगै त्यसको परिणाम सकारात्मक देखिएको दाबी ट्राफिक प्रहरीको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालले टाईम कार्ड लागुहुनु पूर्व एक महिनामा सरदर ११ वटा दुर्घटना हुने गरेकोमा टाईम कार्ड लागु भएपश्चात ७ वटा मात्र दुर्घटना भएको जानकारी दिएका छन् । टाइम कार्ड लागु गरेपछि त्यसको पालनामा समेत कडाई गरिएको छ । टाईम कार्डको उल्लंघन गर्ने २५ वटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । जसमध्ये मोरङको बेलबारीमा १०, गछियामा १३ र नेमुवा २ गरी २५ वटाबाट यात्रु वहाक सवारी साधानबाट १२ हजार ५ सय जरिवाना तिराएको प्रहरी निरीक्षक लम्सालले जानकारी दिएका छन् । यता टाईम कार्य लागुभएपछि भने अधिकांश सवारी चालकहरुले भने सडक सुशासन तथा सुरक्षामा सुरक्षित यात्रा महशुस भएको बताएका छन् ।
पहिले पहिले प्यासेन्जर तान्नको लागि तछाड मछाड गर्नुपथ्र्यो भने अहिले त्यो हटेको छ विराटनगर-काकडभिट्टा सार्वजनिक बस चलाउदै आएका भुपेन्द्र अछामीको भनाई छ । टाईम कार्ड लागुभएपछि आफ्नै गतिमा हिड्दा दुर्घटनामा पनि कमी आएको अर्का सवारी चालक डम्बर बहादुर निरौलाले बताए ।
तर कतिपय बसमा सवार यात्रुहरुले भने गाडी ढिलो चलाएको भन्दै गनगन गर्ने गरेको कतिपय चालकहरुको अनुभव छ । तोकिएको समय भन्दा चाँडो पुग्यो भने कारबाहीमा पर्ने डरले विस्तारै चलाउदा यात्रुहरुले कराउने गरेको धरान-विराटनगर बस चलाउदै आएका शुक्र राईको अनुभव छ ।
टाइमकार्ड अनुसार विराटनगर बसपार्कदेखि इटहरी बसपार्कसम्मको २४ किलोमिटर दूरीका लागि ४५ मिनेटको समयावधि तोकिएको छ । भने इटहरीदेखि धरानसम्म २० किलोमिटर दूरीका लागि ३८ मिनेटको समयावधि तोकिएको छ । काँकडभिट्टादेखि बिर्तामोडसम्मको १७ किलोमिटर दूरीका लागि ३० मिनेट समय निर्धारण गरिएको छ । झापाको केर्खादेखि मोरङको बेलबारीसम्मको ३३ किलोमिटर दूरीका लागि एक घण्टाको समय निर्धारण गरिएको छ ।
पूर्व-पश्चिम राजमार्गस्थित झापाको काँकडभिट्टादेखि मोरङको दुलारीसम्म र कोशी राजमार्गको विराटनगरदेखि सुनसरीको धरान तीनकुनेसम्म अत्यधिक दुर्घटना हुने गरेको छ । ‘टाइम कार्ड’ लागू गरेपछि सवारी साधनको ‘स्पिड’ कम हुने र दुर्घटना न्यूनीकरण हुने विश्वास लिएको छ ।