विराटनगर । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानलाई आकस्मिक रुपमा काठमाण्डौं फर्काएर अवतरण गराइएको छ । विमानस्थलमा इमर्जेन्सी घोषणा गरेर बुद्धको जहाज अवतरण गराएका कारण अहिले पनि जहाजहरु आकाशमा घुमिरहेको बताइएको छ ।
बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन–एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको हो । पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए । विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११ः१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरिसकेको छ ।
काठमाडौंबाट १० ः ३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो । सोहीकारण विमानहरुलाई होल्ड गराउनु परेको विमानस्थल स्रोतले जनाएको छ ।
प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात्रुलाई अर्को विमानबाट भद्रपुर पठाउने तयारी गरिएको छ । बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो । सोहीकारण अहिले विमानहरुले आकासमा फन्को मार्नु परेको छ ।